सुनसरी । कोसी गाउँपालिकामा स्वास्थ्यकर्मीहरूको लागि आयोजना गरिएको तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सेभ द अर्थ सुनसरीद्वारा सञ्चालित विश्वास परियोजनाको आयोजना कोसी गाउँपालिकाको समन्वय र फैरमेड संस्थाको सहयोगमा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्णप्रदेशीय रोगहरूसम्बन्धी तीनदिने आधारभूत तालिम शुक्रबार सम्पन्न भएको हो ।

उष्णप्रदेशीय रोगहरूको स्क्रिनिङ, पहिचान, उपचार तथा प्रेषणसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम (Basic NTDs package Training) तथा पुनः ताजगी तालिम अन्तर्गत हाल नेपालमा एकीकृत रूपमा उष्णप्रदेशीय रोगको स्क्रिनिङ पहिचान, उपचार रोगको छुट्टाछुट्टै रहिआएको छ । यस परियोजनाले नेपालमा पाइने सबै उपेक्षित रोगहरूको एकीकृत पाठ्यक्रम र प्रेषण हरेक तयार पारेर स्वास्थ्यकर्मीहरूलाई उपेक्षित रोगको पहिचानदेखि प्रेषणसम्म गर्न सक्षम बनाउनका लागि आयोजना गरिएको कार्यक्रम उपयोगी साबित भएको आयोजक संस्थाको भनाइ छ ।

स्वास्थ्यकर्मीहरूको उपेक्षित रोगसम्बन्धी क्षमता अभिवृद्धि, स्थानीय स्वास्थ्य संस्थाबाट उपेक्षित रोगसम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्न कार्यक्रम फलदायी भएको सहभागीहरूले बताएका छन् । दुई चरणमा ३–३ दिन आयोजना गरिएको सो तालिममा स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू र स्थानीय निकायमा काम गर्ने अन्य सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिइएको थियो ।

पहिलो र दोस्रो चरणमा स्वास्थ्यकर्मीहरूलाई दुई चरणमा  प्रशिक्षकहरू डा. रिजवान अन्सारी, जीवनकुमार मण्डल, पुष्पबहादुर भट्टराई, सागर प्रसाईं, शोभादेवी गुरुङ, मनिष सुवेदी, कृष्णकुमार चौधरी, प्रस्ताव पौडेल, रामनाथ साह, सन्तोष साहु, रुकसना प्रवीनले प्रशिक्षण दिएका थिए ।

सो तालिममा कुष्ठरोग, हात्तीपाइले रोग, माटोबाट सर्ने जुका, डेङ्गु, चिकनगुनिया, रेबिज, सर्पदंश, लुतो, कालाजार, फित्ते जुका, खस्रे रोगलगायत रोग लाग्ने कारण र बच्ने उपाय, अपनाउनुपर्ने सावधानीलगायत यावत् विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।

सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षता एवम् कोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो तालिममा उपाध्यक्ष अनितादेवी यादव, कोसी १ का अध्यक्ष सोभितनारायण यादव, कोसी–२ का अध्यक्ष ध्यानी उराँव, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरप्रसाद दङ्गाल, कार्यपालिका सदस्य राजकुमार साहलगायतको उपस्थिति रहेको थियो ।