विजयपुर । बझाङमा दलितको निर्माणाधीन घर भत्काइएको विरोधमा धरानमा प्रदर्शन गरिएको छ ।
शनिबार जनता समाजवादी पार्टी (जसपा) शिल्पी/दलित विशेष प्रदेश समितिले जातीय भेदभावका आधारमा दलितले बनाउँदै गरेको घर भत्काएको विरोधमा खबरदारी गर्दै प्रदर्शन गरेको हो । शुक्रबार वित्थडचिर गाउँपालिका–७ का करण ओखेडाको निर्माणाधीन घर स्थानीयले भत्काएका थिए ।
स्थानीयले सार्वजनिक स्थलमा घर बनाएको भन्दै वडा कार्यालयमा उजुरी परेकाले घर भत्काउनुका साथै त्यहाँ लगाएको खेतीपाती पनि फँडानी गरेका थिए । करणले भने आफूले लालपुर्जा भएको जमिनमै घर बनाएको दाबी गरेका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरी पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय कृष्ण जोशी, भवानी जोशी र नन्दलाल जोशी रहेका छन् । उनीहरूविरुद्ध करण ओखेडाले अभद्र व्यवहारमा प्रहरीमा उजुरी दिएका थिए । घर भत्काइएको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जसपा केन्द्रीय सदस्य दलमर्दन कामीले दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे । जसपा धरानका अध्यक्ष ताजुव लिम्बूले दोषीलाई कारबाहीको दायरामा नल्याए जसपाले आन्दोलन गर्ने चतावनी दिए ।
घर भत्काइएको र मुलुकभर जातीय भेदभावजन्य घटना भइरहेकाले विरोध गरेको जसपा निकट शिल्पी विशेष समितिका कोशी प्रदेश अध्यक्ष नरेश विश्वकर्माले जानकारी दिए । उनका अनुसार प्रदर्शनमा राजनीतिक दल, अधिकारकर्मी, बुद्धिजीवी, महिला, युवा, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।