वन तथा सार्वजनिक क्षेत्रमा रौता कन्स्ट्रक्सन नामक निर्माण कम्पनीले नियमविपरीत अलकत्र पकाउने प्लान्ट (अस्फाल्ट प्लान्ट) सञ्चालन गरेको पाइएको छ । प्लान्टबाट कालोपत्रे सडक निर्माणमा प्रयोग हुने अलकत्रालगायतका निर्माण सामग्री अनधिकृत रुपमा उत्पादन गरी बिक्री वितरण गरेको अनुगमनका क्रममा फेला परेको छ । 

कोशी राजमार्ग निर्माणका लागि जडान गरिएको प्लान्ट समयावधि सकिसक्दा समेत निर्माण कम्पनीले अनधिकृत रुपमा सञ्चालन गरी मदन भण्डारी राजमार्गको योजनालाई बिक्री गरिरहेको देखिएको छ ।  

रौताले अनुमति बिना वन तथा सार्वजनिक क्षेत्रमा प्लान्ट राख्न नपाइने नियम उल्लंघन गर्दै बारम्बार सचेत गराउँदा पनि अटेर गरेको डिभिजन वन कार्यालय सुनसरीका रेन्जर ओम अधिकारीले बताए ।   

‘सडकले राखेको हो, सडकको भोगाधिकारभित्र पर्ने ठाउँमा राखेको छ, सेउतीदेखि माथि तीनकुनेसम्म सडक निर्माणका लागि राखिएको हो, वन क्षेत्रसमेत पर्ने भएकाले हामीले हटाइदिन फागुनमै ताकेता गरेका थियौं,’ रेन्जर अधिकारीले भने,‘राष्ट्रिय गौरवको आयोजना भएकाले सडक डिभिजन वन कार्यालय विराटनगरले डेफु साब, सिडिओ साबलाई अनुरोध गरेपछि त्यही रहेको भन्ने कुरा आएको छ ।’

blastkhabar.com (2)

रेन्जर अधिकारीका अनुसार काम सकिएको देखिए पनि प्लान्ट सन्चालनमा रहेको छ । केही दिन अघि स्थानीयले वातावरण प्रदूषण भयो भनेर गुनासो गरेपछि वन कार्यालयका तर्फबाट अनुगमनमा जाँदा सम्बन्धित मान्छे नभेटिएको तर मदन भण्डारी राजमार्गका कामदारलाई भेटेपछि प्लान्ट बन्द गराउन ताकेता गरेको रेन्जर अधिकारीले जानकारी दिए । तर हालसम्म पनि प्लान्ट चलिरहेको देखिएको रेन्जर अधिकारीले बताए । 

रौता कन्स्ट्रक्सनले कोशी राजमार्गको ‘प्रोजेक्ट’ सके पनि मदन भण्डारी राजमार्गको लागि प्रयोगमा ल्याएको र कम्पनीले नै प्रतिघनमिटर ८ सय रुपैयाँले बिक्री गरिरहेको छ । स्रोतका अनुसार प्लान्टबाट दैनिक ३ सय ६० घनमिटर उत्पादन भइरहेको छ । 

रौता कन्स्ट्रक्सनका सञ्चालक धिरेन्द्र दाहालले एउटा प्लान्ट राख्दा प्रदूषण नहुने बताए । उनले धरानमा औद्योगिक क्षेत्र सञ्चालनमा आइरहँदा प्रदूषण नहुने तर  एउटा प्लान्टले प्रदूषण हुने भन्दै प्रतिप्रश्न गरे । 

‘यो बर्खामा अन्यत्र लगेर मैले फिट गर्ने अवस्था छैन, मैले माथि धनकुटा लानु छ, गाउँमा । बाटो छैन । त्यही भएर मैले त्यहीँ राखिरहेको हो,’ सञ्चालक दाहालले भने, ‘मोतीदान भन्ने कन्स्ट्रक्सनलाई बिक्रीका लागि कुरा भइसकेको छ, उसले उठाउने कुरा भएको छ । एक महिना जति मेरो प्लान्ट बस्छ । त्यसपछि उठाएर लान्छु । मदन भण्डारी रोडले समेत त्यहाँको नगरपालिका (धरान उपमहानगरपालिका) लाई चिठी लेखेको छ, योजनाका लागि काम गर्ने भनेर । रानी विराटनगर सडकले समेत लेखेकै छ ।’

सञ्चालक दाहालले हाल मदन भण्डारी राजमार्गले प्लान्ट चलाइरहेको स्वीकार गरेका छन् ।    

blastkhabar.com (3)

गुनासो आएपछि जनप्रतिनिधिको अनुगमन

असफाल्ट प्लान्टका कारण प्रदूषण बढेको गुनासो आएपछि धरानका वडाध्यक्ष र कार्यपालिका सदस्यसहितको टोलीले स्थलगत अवलोकन गरी अस्फाल्ट प्लान्टको कन्ट्रोल क्याबिनमा ताला लगाइदिएका छन् ।  

आइतबार स्थानीय युवाहरुसँग प्लान्ट राखेको स्थानमा धरान १० का वडाध्यक्ष विवेक राईं, कार्यपालिका सदस्य दिनेश विश्वकर्मा र स्थानीय युवाहरुले अवलोकन गरेका हुन् । 

blastkhabar.com (1) 3

‘प्लान्ट इलिगल रुपमा राखेको र वातावरण प्रदूषण भइरहेको गुनासो आएपछि अवलोकनका लागि धरान १० का वडाध्यक्षसहित हामी फिल्डमा पुगेका थियौं,’ कार्यपालिका सदस्य दिनेश विश्वकर्माले भने, ‘न वन, न प्रशासन न स्थानीय सरकार, कसैको पनि अनुमति नलिई सञ्चालन भएको रहेछ । वन कार्यालयले अल्टिमेटम दिए पनि अटेर गरेको पाइयो । न जिल्ला प्रशासन कार्यालयको नै अनुमति छ ।’

कार्यपालिका सदस्य विश्वकर्माका अनुसार वडाध्यक्षको नेतृत्वमा गएको टोलीले अस्फाल्ट प्लान्टको कन्ट्रोल क्याबिनमा ताला लगाइदिएको हो । तालाचाबी धरान उपमहानगरपालिकामा बुझाइएको छ ।