अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशमै पहिलो पटक 'फिफा कनेक्ट' कार्यक्रम जिल्ला स्तरमा सुरु गरेको छ ।

कोशी प्रदेश फुटबल संघको समन्वयमा आज मंगलबार जिल्ला फुटबल संघका पदाधिकारीलाई सहभागी गराई 'फिफा कनेक्ट' बारे कार्यशाला सुरु गरेको हो । कार्यशालामा १४ जिल्लाका फुटबल संघका पदाधिकारी सहभागी छन् ।

सहभागीलाई प्राविधिकहरुले कार्यशालामार्फत तथ्यांक प्रविष्टिलगायतका सीप प्रदान गर्ने छन् । 'फिफा कनेक्ट' सफ्टवेयरमार्फत फुटबल खेल र खेलाडीहरुको गतिविधिका बारेमा जानकारी दिने प्रविधि हो । जिल्ला तहबाटै यसलाई अद्यावधिक गरी विश्वका जुनसुकै ठाउँबाट गतिविधि नियाल्न सकिने एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले जानकारी दिए ।

'फिफा कनेक्ट २०२३ ले स्थानीय तहदेखि जिल्ला हुँदै केन्द्रका फुटबलका गतिविधिलाई फिफासँग जोड्ने छ', कोशी प्रदेश फुटबल संघका अध्यक्षसमेत रहेका राईले भने, 'प्रविधिको विकाससँगै  फुटबलका गतिविधि र जनशक्तिको तथ्यांकलाई सुव्यवस्थित गर्ने काम फिफा कनेक्टले गर्नेछ ।'

फुटबलको विकास र व्यावसायीकरणका लागि साथै जिल्ला स्तरमा बजेट र आर्थिक सहायताको प्रवर्धनका लागि फिफा कनेक्टले प्लेटफर्म प्रदान गर्ने अध्यक्ष राईले विश्वास व्यक्त गरे ।

कार्यशालाको सहजीकरण एन्फाका कम्पिटिसन म्यानेजर सुवास न्यौपाने, रजिस्ट्रेसन अफिसर सन्जय श्रेष्ठ, फिटनेस इन्स्ट्रक्टर किरण गिरीलगायतले गर्नेछन् ।

कार्यशालाबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा एन्फाका सहायक महासचिव वसन्त अर्याल, कोशी प्रदेश फुटबल संघका उपाध्यक्ष मणि चेम्जोङ, कविराज लिम्बू, सहायक महसचिव केशव कार्की, एन्फा सुनसरी अध्यक्ष नवीन राई, फिफा फर्वर्ड म्यानेजर हेड अफ रेफ्री डिपार्टमेन्ट गोकुल थापालगायत जिल्ला फुटबल संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

'परिवर्तनका लागि सामूहिक एकता, पारदर्शिता र विकेन्द्रीकरण हाम्रो प्रतिबद्धता' को नारासहित  कोशी प्रदेश फुटबल संघले प्रदेशमा फुटबलको व्यावसायिकताका लागि कार्यक्रम गरिरहेको
महासचिव भगिरथ आलेले जानकारी दिए ।