विराटनगर । कोशी प्रदेशबाट २ सय ९५ जना प्रहरी जवानहरू दीक्षित भएका छन् ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान १ सय ४० औं समूहबाट ५३ जना महिलासहित २ सय ९५ जना प्रहरी जवानहरू आइतबार दीक्षित भएका हुन् ।

२०७९ साल कात्तिक २० गतेदेखि सञ्चालित २ सय ३४ कार्यदिनको प्रहरी जवान १ सय ४० औँ समूहको आधारभूत तालिमपश्चात् प्रशिक्षार्थीहरूलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङ्गणमा कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भएको हो । प्रहरी जवान १ सय ४० औँ समूहको आधारभूत तालिममा सहभागी ५३ जना महिलासहित २ सय ९५ जना प्रहरी जवानहरू दीक्षित भएका छन् ।

दीक्षान्त समारोहमा तालिम केन्द्रका सह–समादेशक प्रहरी डिएसपी रविन विष्टले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरे । उनले तालिमको दौरानमा प्रशिक्षार्थीहरूलाई नेपाल र नेपाल प्रहरी सङ्गठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र विद्यमान कानून र प्रहरी युक्ति तथा कारबाहीलगायतका विषयमा प्रशिक्षण दिइएको जानकारी गराए ।

दीक्षान्त समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई नेपालको संविधानबमोजिम तालिम केन्द्रका समादेशक एसएसपी राजन अधिकारीले शब्दमा शपथ ग्रहण  गराए । प्रशिक्षार्थीहरूलाई तालिम अवधिभर लिइएको चरणगत परीक्षाको प्राप्ताङ्कका आधारमा विभिन्न विधामा उत्कृष्ट हुने प्रशिक्षार्थी प्रहरी जवानहरूलगायत तालिममा सहभागी प्रशिक्षकहरूलाई कार्यक्रमका प्रमुख अतिथि डिआइजी बास्तोलाले प्रमाण–पत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरे ।

दीक्षान्त समारोहमा बोल्दै डिआइजी बास्तोलाले कार्यक्षेत्रमा मन, वचन र कर्मले निष्ठापूर्वक, इमान्दार र बफादार भई उच्च मनोबलका साथ नागरिकको सेवामा दत्तचित्त भई लागिपर्न निर्देशन दिए । दीक्षान्त समारोहमा तालिम केन्द्रका समादेशक एसएसपी राजन अधिकारीले धन्यवाद ज्ञापन गर्दै समाज गतिशील रहेको र हाम्रा प्रयास पनि गतिशील नै हुनुपर्ने बताउँदै प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न गरेको बताए । अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरूकै रहेको हुँदा समाज र सङ्गठनले अपेक्षा गरेअनुरूप निष्ठापूर्वक कार्य गर्न उनले निर्देशन दिए ।