भद्रपुर । खानेपानी उपभोक्ता तथा सरसफाइ समिति भद्रपुर–१० चन्द्रगढीको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्व तथा प्रदेश सांसद् एकराज कार्कीको प्रमुख आतिथ्यमा मङ्गलबार चन्द्रगढीमा सभा सम्पन्न भएको हो ।
अध्यक्ष अधिकारीले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिले गत आर्थिक वर्ष २०७९/ ०८० मा सहयोग तथा अनुदानसमेत गरी २ करोड ९० लाख ३४ हजार ८ सय ६० रुपैयाँ ९५ पैसा आम्दानी गरी ९ लाख २१ हजार ६ सय ८३ रुपैयाँ ५७ पैसा बचत गरेको जनाएको छ । त्यसैगरी चालु आर्थिक वर्ष २०८०/०८१ का लागि २ करोड ३४ लाख १७ हजार ९ सय १६ रुपैयाँ ५७ पैसा आम्दानी र ७ लाख २२ हजार ९ सय १६ रुपैयाँ ५७ पैसा बचत गर्ने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समितिका सह–सचिव झुमा शिवाकोटी दाहालले स्वागत गरेको कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता समितिका अध्यक्ष चूडामणि मैनालीले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव बाबुराम कार्कीले गरेका थिए । सुरुमा ४४ किलोमिटर पाइपलाइनसहित १ हजार ५६ धारा सङ्ख्याबाट सुरु भएको संस्था हाल ४ हजार उपभोक्ता र १ सय ५० किलोमिटरभन्दा बढी पाइपलाइन निर्माण भइसकेको समितिले जनाएको छ ।