बराहक्षेत्रस्थित चतरा नहरमा स्टोन स्किपिङ (पानी सुल्के) प्रतियोगिता आयोजना गरिने भएको छ ।
महिला र पुरुष समूहमा आयोजना गरिने प्रतियोगिता कार्तिक २८ गते भाइटिकाको अघिल्लो दिन आयोजना गरिने भएको हो। धरानमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक चतरा हाइकिङ समूहले प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगिताका विजेताहरु पहिलो,दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार,३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्। युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नाराका साथ बराहक्षेत्र वडा नम्बर– १ मा अवस्थित चतरा नहरमा पहिलोपटक स्टोन स्किपिङ खेल आयोजना गरिने आयोजक संस्थाका संस्थापक भीषण राईले जानकारी दिएका छन् । प्रतियोगिता गोबर्धन पूजाको दिन बिहान ११ बजेबाट सुरु गरिने छ। खेलाडीलाई प्रवेश शुल्क सय रुपैयाँ तोकिएको छ।
नेपालकै ठूलो चतरा नहरमा यो खेल आयोजना हुँदैछ। यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ।जसमा पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रिन्छ त्यसको गणना गर्ने गरिन्छ। आयोजक संस्थाक सदस्य युवराज भट्टराईले भने ।
यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्डलगायत देशमा प्रतियोगिताको रूपमा खेलिने आयोजकले जनाएको छ। प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना हुने आयोजकको दाबी छ।गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन्।
धेरैले यो खेल बाल्य अवस्थामा जानअन्जानमा खेलेका थिए होलान् । सायद तपाईं हामीमा ती सबैको अनुभव साँचिएका छन्। यो खेल अहिले त्यसौको पुनरावृत्ति पनि हो पत्रकार सम्मेलनमा आयोजक सदस्य विजय राउतले भने। खेलमा सहभागी हुन प्रतियोगिता स्थलमैसमेत नाम दर्ता गर्न सकिने बताइएको छ ।