इटहरी । सुनसरीको इटहरीमा भोलि (जेठ २५ गते) देखि इस्टर्न ट्राभल मार्टको आयोजना हुने भएको छ ।

कोशी प्रदेशमा रहेका पर्यटकीय स्थलहरूको प्रवर्धन तथा प्रचार–प्रसारसँगै आवश्यकता एवम् महŒवबारे वाह्य पर्यटकहरूलाई दर्शाउने उद्देश्यसहित इस्टर्न ट्राभल मार्टको आयोजना गर्न लागिएको हो । इटहरीमा मङ्गलबार दिउँसो पत्रकार सम्मेलन गर्दै  मार्टमा भारत, बिहार, पश्चिम बङ्गाल, सिक्किम प्रान्त, बङ्गलादेश र भूटानलगायतका छिमेकी राष्ट्रहरूबाट पर्यटक ल्याइने आयोजक इस्टर्न ट्राभल मार्ट कोशीले जनाएको छ ।

इटहरीको धरानरोड आँपगाछीस्थित सोल्टी वेस्टर्नको प्राङ्गणमा लाग्ने मार्टमा ३० वटा स्टलहरू रहने पत्रकार सम्मेलनमा जनाइएको छ । मार्टले समग्र कोशी प्रदेशमा रहेका साना तथा ठूला लगानीमा निर्माण भएका होटलहरूको पनि अवलोकन हुने पत्रकार सममेलनमा जनाइएको छ । कार्यक्रमका लागि नेपाल पर्यटन बोर्डबाट तीस लाख र सो रकमको २० प्रतिशत स्थानीय सरकार इटहरी उपमहानगरबाट प्राप्त हुने आयोजक कमिटीका संयोजक भविसकुमार श्रेष्ठले बताए ।

भोलि इटहरीमा उद्घाटन हुने ट्राभल मार्ट २७ गते झापाको मेची क्राउनमा पुगेर समापन गरिने पत्रकार सम्मेलनमा जनाइएको छ । कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने जनाइएको छ । मार्टमा कोशी प्रदेशलगायत अन्तर्राष्ट्रियस्तरबाट आएका पाहुनाहरू, पर्यटनकर्मी, पत्रकार, अभियन्तालगायत ८० भन्दा बढी ट्राभल व्यवसायीहरूको संयुक्त उपस्थिति रहने जनाइएको छ ।

कोशी प्रदेशमा करोडौं लगानीसहित स्थापना गरिएका होटलहरूलाई तीनै तहको सरकारले बेवास्ता गरेपछि उनीहरूलाई दबाव दिनकै लागि यो मार्ट आयोजना गरिएको आयोजक कमिटीका संयोजक भविसकुमार श्रेष्ठले बताए । तीनै तहका सरकारलाई झक्झकाउन र दबाव दिन तीनदिने ट्राभल मार्ट गर्न लागिएको संयोजक श्रेष्ठले बताए । त्यस्तै पर्यटन व्यवसायी वासुदेव बरालले जोखिमको बेला राज्यले व्यवसायीहरूलाई प्रवद्र्धन वा संरक्षण गर्ने कुनै ठोस नीति ल्याउन नसक्दा होटल सञ्चालकहरू अहिले मर्कामा परिरहेको औंल्याए ।

उनले बैङ्कबाट करोडौं रुपैयाँ ऋण लिई जोखिम मोलेर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरूलाई अप्ठेरो परेको बेला राज्यले बेवास्ता गरेपछि लगानी जोखिममा पर्नुका साथै थुप्रै व्यवसायीहरू आफ्नो व्यवसायबाटै पलायन भइरहेको गुनासो गरे । होटल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले पर्यटकहरूलाई लक्षित गरी यस्ता मार्ट आयोजना गरिरहँदा राज्यले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए । इटहरीका होटल व्यवसायी अर्जुन शर्माले कोशी प्रदेशमा हुन लागेको इस्टर्न ट्राभल मार्टमा साना व्यवसायीहरूलाई पनि समेट्न आग्रह गरे । उनले आन्तरिक तथा वाह्य पर्यटकहरूलाई लक्षित गरी मार्टको आयोजना गरे पनि पर्यटकहरूमाथि राजमार्गमा हुने दुव्र्यवहार रोक्न सबै लाग्नुपर्ने पनि बताए ।