इनरुवा । सुनसरीको इनरुवा नगरपालिका र रामधुनी नगरपालिकामा निर्माण भएका दुई विद्यालयको भवन उद्घाटन गरिएको छ ।
भारत सरकारको ६ करोड रुपैयाँको लागतमा निर्माण भएका दुई भवन उद्घाटनसँगै हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति सुनसरीको नेतृत्वमा बुधबार औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको हो । नेपालका लागि भारतीय दुतावासका प्रथम सचिव सुमन शेखरले भवनहरू हस्तान्तरण गरे ।
दुतावासका सचिव सुमन शेखर र जिसस सुनसरी सभापति राजन मेहताले भगवती मा.वि. र रामधुनीको भासी मा.वि.को भवन सम्बन्धित विद्यालयका प्रअलाई हस्तान्तरण गरेका हुन् । भारतीय दुतावासका प्रथम सचिव शेखरले शिक्षाको क्षेत्रमा मात्र नभई नेपाल र नेपालीका लागि भारत सरकारले थुप्रै योजनामा सहयोग गर्दै आएको बताए ।
जिसस सुनसरी सभापति राजन मेहताले नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई दुई देशीय सहयोगले थप प्रगाढ बनाएको धारणा राखे । दुवै विद्यालय भवन निर्माणमा समान ३–३ करोड खर्च भएको छ । इनरुवा र रामधुनीका दुवै विद्यालय भवनको निर्माण भने निकै वर्षअगाडि सम्पन्न भैसकेको थियो ।