वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाले भारतबाट आयातित प्रतिबन्धित माछा नबेच्न निर्देशन गरे पनि बेचेको पाइएपछि त्यस्ता माछा प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय चतराले वराहक्षेत्र–२ मा लाग्ने साप्ताहिक हाट ‘बिहीबारे हाट’ मा बिक्रीका लागि राखिएको प्रतिबन्धित मुङ्ग्री जातको माछा नष्ट गरेको हो । वडा कार्यालयसहित प्रहरीले गरेको संयुक्त अनुगमनको क्रममा माछा बिक्री गर्दै गरेको अवस्थामा ३० केजी माछा बरामद गरी नष्ट गरिएको इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सइ बाबुराम पौडेलले जानकारी दिए ।

प्रहरी आएको देख्ने बित्तिकै माछा छाडेर माछा व्यापारी भागेका थिए । बरामद माछालाई स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा प्रहरीको रोहवरमा खाल्डो खनी नष्ट गरिएको छ ।

हाटबजारमा मरेका माछा बिक्री गर्ने गरेको गुनासोका आधारमा वराहक्षेत्र नगर कार्यपालिकाले गत सोमबार निर्णय गर्दै बिक्रीमा रोक लगाएको थियो । बिक्री रोक लगाइएको माछा बिक्री गरेको भन्दै माछा बरामद गरिएको हो ।

निर्णयमा माछा व्यापारीहरूलाई निर्देशन दिने र अवज्ञा गरेमा व्यापारीको अन्य सामग्री पनि बरामद गर्ने कडा निर्देशन गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम दण्ड जरिबाना गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिए ।