धरान । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्यसहित कान्छा छोराको हत्या भएको अवस्थामा भक्तपुरस्थित भाडाको घरमा प्रहरीले शव फेला परेको छ ।
प्रमुख आचार्यसहित कान्छा छोरा प्रवीणको हत्या भएको अवस्थामा प्रहरीले शव फेला पारेको हो । उनीहरूसँगै जेठा छोरा मिलन सुतेको भए पनि उनी फरार छन् । प्रहरीले घटनामा उनको संलग्नता हुनसक्ने अनुमान गरेको छ । प्रहरीका अनुसार शनिबार साँझ कुलप्रसादसँग मिलन र प्रवीण पनि सँगै खाना खाएर सुतेका थिए । तर, सोमबार बाहिरबाट ताल्चा लगाइएको र छुट्टाछुट्टै कोठामा दुईजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । जेठा छोरा उक्त स्थानमा नभेटिएकाले हत्यामा संलग्न भएको आशङ्का गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले सँगै सुतेको भन्ने जानकारी आएको जेठा छोरा मिलन फरार रहेकाले हत्या उनले गरेको हुनसक्ने अनुमान गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको बताए । शवलाई पोष्टमार्टमका लाग त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको सोमबार सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा शव भेटिएको हो । हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख आचार्य छोरासँगै भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा मृत फेला परेको खबर आफूसँग आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका हुन् । बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । आचार्य बाबुछोराको शरीरमा चोट देखिएको र सँगै बसेका जेठा छोरा भने सम्पर्कविहीन हुनुमा घटना शङ्कास्पद बनेको मृतकका आफन्त एवम् दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका गोपाल आचार्यले बताए ।
आइतबार राति तीन बाबुछोरा खाना खाएर सुतेका र सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको आफन्तले बताए । उनीहरूसँग कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।