विराटनगर । विराटनगरमा दिनदहाडै व्यापारीमाथि आक्रमण गर्ने र राति होटलबाहिर युवामाथि कुटपिट गर्ने बाउन्सर पक्राउ परेका छन् ।
मोरङ प्रहरीले विराटनगर–९ मा रहेको बालाजी कपडा पसल र तृष्णा रेष्टुरेन्टका सञ्चालक विजय अग्रवालमाथि दिनदहाडै कुटपिट गर्ने एक जनालाई पक्राउ गरेको छ । त्यस्तै तृष्णा रेष्टुरेन्टबाहिर युवाको समूहलाई आक्रमण गर्ने दुईजना बाउन्सर पनि पक्राउ परेका छन् ।
व्यापारी अग्रवाललाई पसलमा आएर शनिबार दिउँसो आक्रमण गरेको आरोपमा विराटनगर–११ का २६ वर्षीय रुसतम उप्रेती पक्राउ परेका हुन् । उप्रेतीसहितको १० देखि १२ जनाको समूहले शनिबार बिहान विराटनगरको ट्राफिक चोकदेखि उत्तर मेनरोडमा रहेको बालाजी कपडा पसलमा आएर अग्रवालमाथि निर्घात कुटपिट गरेको थियो । अग्रवाललाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
त्यसैगरी पक्राउ परेका उप्रेतीको समूहलाई पनि व्यापारी विजय अग्रवालले सञ्चालन गरेको तृष्णा रेष्टुरेन्टका बाउन्सरले शुक्रबार राति आक्रमण गरेको छ । बाउन्सरद्वय विराटनगर–११ का ३६ वर्षीय बब्लु अन्सारी र विराटनगर–४ का २५ वर्षीय सुगम केसरी पक्राउ परेका हुन् । बाउन्सरको आक्रमणबाट उप्रेतीको टाउकोमा चोटपटक लागेको छ । शुक्रबार राति उप्रेतीसहितका युवाको समूहले अपशब्द बोलेपछि होटलभित्र झगडा भएको थियो ।
झगडा भएपछि बाउन्सरले युवाहरूलाई बाहिर निकालेर कुटपिट गरेको आरोप छ । त्यसपछि आक्रोसित भएका युवाको समूह भोलिपल्ट शनिबार दिउँसो व्यापारी अग्रवाल र अर्का लगानीकर्ता अमन साहलाई कुटपिट गर्न भनेर हिँडेको थियो । अमनलाई नभेटेपछि उनीहरूले अग्रवाललाई आक्रमण गरेका हुन् । उनी कपडा पसलमा भएको बेला युवाको समूहले एल्मुनियम पाइप र हेल्मेटले कुटपिट गरेका थिए । कुटपिटबाट अग्रवालको अनुहार र टाउकोमा चोटपटक लागेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले आक्रमण गर्ने दुवै समूहका पक्राउ परेको बताए । उनीहरूलाई आइतबार राति विराटनगरबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको उनले बताए । ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ । दुवैतिरको गहन तरिकाले हामीले अनुसन्धान सुरु गरेका छौँ’ उनले भने, ‘दुवैतर्फका गरी तीन जनालाई पक्राउ गरिएको छ । घटनामा अरूको पनि संलग्नता देखिएको छ । हामी अनुसन्धान गर्दै छौँ ।’ प्रहरीले उनीहरूमाथि अभद्र व्यवहार मुद्दामा सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।