विराटनगर । मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको निष्कर्षमा प्रहरी पुगेको छ । पीडित युवतीको बयान र घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेपछि सामूहिक बलात्कार भएको निष्कर्षमा प्रहरी पुगेको हो ।
कटहरी–२ मा हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अवस्थामा अर्धचेत फेला परेकी युवतीको मङ्गलबार दिउँसो उद्धार गरेर कोशी अस्पतालमा उपचार भइरहेको छ । ती युवतीको उद्धारपछि प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा १ जना भारतीय नागरिकसमेत रहेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान, सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो.गुल्जार छन् । यस घटनामा एक जना फरार रहेको प्रहरीले जनाएको छ । फरारको हकमा पनि खोजी कार्य प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको बताए । यस घटनाबारे पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराउने उनले बताए । ‘पक्राउ परेकाहरूको हकमा अनुसन्धान भइरहेको छ’ उनले भने, ‘हामी यस घटनाबारे विस्तृतमा जानकारी दिनेछौं ।’
पराल लिन गएकी महिलाले हातखुट्टा बाँधेको अवस्थामा ती युवतीलाई भेटेपछि प्रहरीलाई खबर पुगेको थियो । स्थानीयको सहयोगमा प्रहरीले युवतीको उद्धार गरी कोशी अस्पतालमा भर्ना गरेको थियो । युवतीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । प्रहरीका अनुसार घरबाट बाहिर निस्किएकी युवतीलाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी–२ स्थित बाँसको झ्याङमा लागेर हातखुट्टा बाँधेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
‘एक जनाले जबरजस्ती बलात्कार गर्ने र दुई जनाले हात समाएको बयान पीडित महिलाले दिएकी छन्’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकारीले भने, ‘सामूहिक बलात्कार भएको निष्कर्षमा प्रहरी पुगेको छ । अब मेडिकल रिपोर्ट मात्रै आउन बाँकी रहेको छ । त्यो आएपछि प्रहरीले आधिकारिक रूपमा प्रारम्भिक अनुसन्धानको घटनाक्रम सार्वजनिक गर्नेछ ।’