भद्रपुर। पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि आक्रमण गर्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू धरौटीमा छुटेका छन् ।

अभद्र व्यवहारको आरोपमा प्रहरीले मुद्दा दायर गरेका उनीहरू जिल्ला प्रशासन कार्यालयको आदेशमा रिहा भएका हुन् । नेपाल विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारीहरू शिवसताक्षी–११ का ४९ वर्षीय भक्तबहादुर कट्वाल र कनकाई–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठसँग प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बयान लिएपछि सामान्य धरौटीमा छुटेका हुन् ।

उनीहरूलाई जनही ५–५ हजार रुपैयाँ धरौटी लिएर छोडिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए । अभद्र व्यवहार गरेको कसूरमा माघ ६ गते इलाका प्रहरी कार्यालय बिर्तामोडले ३ दिनको म्याद लिएर उनीहरूमाथि मुद्दा दायर गरेको थियो । पूर्वमुख्यमन्त्री तथा काङ्ग्रेस नेता थापामाथि माघ ५ गते साँझ कुटपिट भएको थियो ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा साँझ करिब ७ बजे कनकाई नगरपालिकाको जुकेखाडी कल्भर्टनजिक थापामाथि उनीहरूले मुक्का हानेका थिए । बा.१ झ ६५३ नम्बरको गाडीमा घर फर्किँदै गरेका अर्जुनधारा–७ निवासी थापामाथि बा. १ ञ १८७० मा सवार विद्युत् प्राधिकरण सुरुङ्गाका ती कर्मचारीहरूले कुटपिट गरेका थिए । कुटपिटबाट  उनको देब्रे आँखा सुन्निएको थियो ।

उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो । विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीले पूर्वमुख्यमन्त्री थापा चढेको गाडीलाई सुरुङ्गा पुलनजिक डाइभर्सनमा साइड नदिएको भन्दै विवाद भएको थियो ।