धरान । जिल्ला अदालत खोटाङले कृषिविज्ञ मदन राईलाई बाल यौन दुरुपयोग कसूरमा दोषी ठहर गरेको छ ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहर गरेको हो । कसूर ठहर भएका राईलाई यही माघ २५ गते सजाय निर्धारण गरिने भएको छ । माघ १० गते कसूर ठहर गरेको अदालतका श्रेस्तेदार सीताराम खड्काले जानकारी दिए । उनीविरुद्ध २०८० साल जेठ २१ गते जिल्ला अदालत खोटाङमा बाल यौन दुरुपयोग सम्बन्धी कसूरमा अभियोगपत्र दायर भएको थियो । उनीमाथि तीन वर्ष कैद र ७५ हजार रुपैयाँ जरिबाना माग गरिएको थियो ।
खोटाङ रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन (शुभम्) फाउन्डेसनमा रहेका किशोरीहरूलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । उक्त आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालयले २०८० साल वैशाख २९ गते पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई २०८० साल जेठ २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, मुद्दाको फैसला नभएसम्म फाउन्डेसनमा जान नपाउने गरी चार लाख रुपैयाँ धरौटीमा छाडिएको थियो ।
सामान्यतः अदालतले दोषी ठहर गरे पनि सजाय
निर्धारणका लागि केही समय कुर्नुपर्ने व्यवस्था रहेको छ । कृषिविज्ञ राई
शुभम् फाउन्डेसनका संस्थापक तथा सञ्चालकसमेत हुन् । यौन दुव्र्यवहार गरेको
भन्दै फाउन्डेसनमै सात वर्ष बसेर बाहिरिएकी एक १६ वर्षीया बालिकाले
प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ
गरेको थियो । उनले सामाजिक सञ्जालहरूमा पनि ‘सेक्स’ का विषयमा खुलेर कुरा
गर्दै आएका थिए । हाल फाउन्डेसनमा विभिन्न जिल्लाका एक सयभन्दा बढी
विद्यार्थीहरू अध्ययनरत रहेको बताइन्छ । उक्त फाउन्डेसनमा प्रयोगात्मक
शिक्षा दिइँदै आएको जनाइएको छ ।