विराटनगर। विराटनगर–५ विशालचोकमा १४ वर्षीया चाँदनी यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालिकाको आमा राजकुमारी र बुबा लालमन राय रहेका छन् । प्रहरीले उनीहरूलाई भारतबाट पक्राउ गरेर आइतबार मोरङ ल्याएको हो ।
यसअघि बालिकाको हत्या आरोपमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएकामध्ये चार जना घटनामा संलग्न देखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । यसअघि प्रहरीले बालिकाको हजुरबुबा ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, बालिकाको मामा रामबाबु र माइजू जानकीदेवी मण्डललाई पक्राउ गरेको थियो । पक्राउ परेका ६ जनालाई मोरङ प्रहरीले आइतबार कर्तव्य ज्यान मुद्दामा पाँच दिनको पहिलो पटक म्याद थप गरेर अनुसन्धान सुरु गरेको डिएसपी जोशीले जानकारी दिए ।
चाँदनीलाई उनको प्रेमीबाट छुटाउन बाबुआमा र
मावली परिवार मिलेर हत्या गरेपछि मावली घरदेखि एकसय २५ मिटर उत्तरमा चार
फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शुक्रबार शव फेला परेको थियो ।
चाँदनीको घर भारत बिहार प्रदेशको छपरा जिल्लामा हो । उनी पुसको पहिलो हप्ता
आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । मामाघर आएको एक
महिनापछि ११ माघमा उनको हत्या भएकोे हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि
प्रहरीले हत्याको मिति पत्ता लगाउन घटनाको अनुसन्धान गर्दै आएको र
अनुसन्धानपछि पक्राउ परेकाहरूबाट घटनाका बारेमा थप कुरा खुल्ने डिएसपी
जोशीले जानकारी दिए ।