धरान। सुनसरी प्रहरीले बिहीबार दुई स्थानबाट ठूलो परिमाणमा लागूऔषधसहित गाडी नियन्त्रणमा लिएको छ ।

बिहान ३ बजेको समयमा भारतीय नम्बर प्लेटको गाडीमा लागूऔषध गाँजा तस्करी भइरहेको भन्ने सूचना आएपछि जिल्लाको दक्षिणीक्षेत्रको नाका बन्द गरी प्रहरी टोली खटाएर गाडीसहित लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका–४ स्थित छिटाहा नहरको बाटो हुँदै आउँदै गरेको एचआर ७० इ ९५०२ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी ब्यारिकेडलाई ठक्कर दिँदै भागेको थियो । फरार गाडी देवानगञ्ज गाउँपालिका–७ सिनवारीमा अनियन्त्रित भई सडकभन्दा १० फिट तल खसेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

स्कारपियोभित्र हेर्दा प्लाष्टिकको बोरामा १० पोका गाँजा र सोही स्कारपियोछेउमा रहेको उखुको ढोडमा लुकाइराखेको ४ पोका गरी १४ पोकामा २ सय ९६ केजी तौल बराबरको रहेको प्रहरीले जनाएको छ । सो स्कारपियोलाई स्कर्टिङ गर्नको लागि ल्याइएको प्रदेश २–०३–००९ प ०९९७ नम्बरको कालो–निलो रङको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

यसैगरी बिहीबार साँझ नै इटहरी लविपुरबाट भारतीय नं. प्लेटलाई छोपेर नेपाली नं. प्लेट लगाएको कार प्रहरीले नियन्त्रणमा लिएको छ । बा.२ च ३४७५ नं.को कारबाट २ सय ४० केजी गाँजा प्रहरीले बरामद गरेको एसपी तिम्सिनाले जानकारी दिए । गाडीका चालक भनेर फरार भएको प्रहरीले जनाएको छ । एसपी तिम्सिनाका अनुसार पछिल्लो समय भारतीय नं. प्लेट छोपेर नेपाली नं. प्लेट लगाएर चोरी तस्करी गर्ने कार्य बढेको छ ।

भारततिर गाँजा लगेर नेपालमा ब्राउन सुगर ल्याउने गिरोह सक्रिय रहेको बताइएको छ । एक सातामा प्रहरीले ५० ग्रामभन्दा बढी ब्राउनसुगर बरामद गरेको छ । सुनसरी प्रहरीले एक हप्ते अभियान नै चलाएर लागूऔषध ओसार–पसारलाई नियन्त्रणलाई कडाइका साथ तीव्रता दिएको छ ।