धरान । छुट पुर्जीभन्दा बढी खयरको काठ लोड गरी ल्याएको आशङ्कामा धरान प्रहरीले पहाडी क्षेत्रबाट आएका ८ वटा मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ ।
भोजपुरबाट छुटेका चारवटा, धनकुटाबाट छुटेका तीनवटा र पाँचथरबाट छुटेको एउटा गरी ८ वटा ट्रकलाई नियन्त्रणमा लिई ‘छुट पुर्जीअनुसार भए÷नभएको जाँच गर्न’ भनी जिल्ला वन कार्यालय सुनसरीलाई पत्राचार गरेको छ । भोजपुरबाट को.१ ख ७२९७, को.१ ख ५५९२, प्रदेश १–०२–००१ ख ८४५० र ना.६ ख ७४७७ नम्बरको ट्रकमा कुल एक हजार ९ सय ६ दशमलव ९८ क्युविक फिट काठ छुट पुर्जी भएको देखिन्छ । जिल्ला वन कार्यालय भोजपुरका प्रमुख वन अधिकृत दानबहादुर श्रेष्ठले भोजपुरबाट पठाइएको काठ छुट पुर्जीअनुसार नै रहेको दाबी गरे ।
‘अफिसर विजय यादवको नेतृत्वमा हामीले गम्भीररूपमा हेरेका छौँ । करिब करिब पाँच पल्ट चेकजाँच गरेर पठाएका छौँ’ उनले फोनसम्पर्कमा भने, ‘हाम्रोबाट हिमाली कत्था इटहरी सुनसरीका लागि छुट पुर्जी भएको छ ।’ प्रहरीले विना प्रमाण भोजपुरका ट्रकहरू नियन्त्रणमा लिई दुःख दिएको उनको भनाइ छ । यता पाँचथरबाट प्रदेश १–०२–००२ ख ५५९ नम्बरको ट्रक आएको थियो । एक स्रोतका अनुसार पाँथचरका व्यवसायीहरूको विवादका कारणले प्रहरीमा गलत सूचना गएको थियो । सोही सूचनाअनुसार प्रहरीले पाँथचरको ट्रक रोक्ने क्रममा सबैतिरबाट आएका ट्रकहरू नियन्त्रणमा लिएको त्यो स्रोत बताउँछ ।
यता धनकुटाबाट प्रदेश १–०२–००१ ख ६०९, प्रदेश १–०२–००२ ख ५३०, र प्रदेश १–०१ ख ४५४५ नम्बरको मालवाहक ट्रक आएका थिए । ती ट्रकहरू सुनसरीको विभिन्न स्थानका कत्था उद्योगहरूमा खयर लिएर जाँदै थिए । जिल्ला वन कार्यालयहरूबाट छुट पुर्जी गरिएको थियो । यता धरानस्थित डिभिजन वन कार्यालयले पनि दरपीठ गरेपछि प्रहरीलाई शङ्का लागी नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय धरान मातहतको अस्थायी प्रहरी चौकी तीनकुनेका असइ डाइमन्ड ज्योति घिमिरेको कमान्डमा खटिएको प्रहरीले नियन्त्रणमा लिई जाँच गरेको थियो । उक्त ट्रकहरू हाल पनि अस्थायी प्रहरी चौकी तीनकुनेको नियन्त्रणमा छन् भने कागजात इलाका प्रहरी कार्यालयलाई प्राप्त भएपछि जिल्ला वन कार्यालय सुनसरीलाई आवश्यक कारबाहीका लागि पठाइएको छ ।
इप्रका धरानका डिएसपी प्रकाश जवगूले भने, ‘बिलविजकभन्दा बढी रहेको शङ्का लागेपछि नियन्त्रणमा लिएका थियौँ र वनमा अनुसन्धानका लागि पठाएका छौँ ।’ धरानस्थित डिभिजन वन कार्यालयले पनि दरपीठ गरिसकेको अवस्थामा किन नियन्त्रणमा लिइयो भनी जिज्ञासा राख्दा उनले थपे, ‘उहाँहरूको दरपीठमा पनि शङ्का लागेको छ । सामान्य गाडी र १० चक्के गाडी हेर्दा सामान बढी आएको देखिएको छ । त्यसैले अनुसन्धान गर्न भनी जिल्ला वन कार्यालयमा पठाएका छौँ ।’ जिल्ला वन कार्यालय सुनसरीका प्रमुख वन अधिकृत खुद्रुस मियाँका अनुसार अनुसन्धानका लागि भनेर चिठी पठाएपछि यस कार्यालयले अनुसन्धान अधिकृतको रूपमा सहायक वन अधिकृत रमेशकुमार रेग्मीलाई खटाइएको छ ।
‘बढी कम के छ त्यो हामी अनुसन्धान गर्दै छौँ’ उनले फोनसम्पर्कमा भने, ‘छुट पुर्जीअनुसार छ कि छैन भनेर हेर्नका लागि अनुसन्धान अधिकृत खटाइसकेका छौँ ।’ अनुसन्धान गर्नका लागि रेग्मीसहितको वडाध्यक्ष, प्रहरीलगायतको रोहवरमा जाँच गरिने बताए । धरानस्थित डिभिजन वन कार्यालयले के आधारमा दरपीठ गरेको भनी जिज्ञासा राख्दा उनले भने, ‘गाडीमा सबै गन्न सम्भव हुँदैन । चक्काको आधारमा दरपीठ गरिदिएको होला । त्यही आधारमा स्वीकृत गरिएको हो । प्रहरीलाई शङ्का लाग्यो । नियन्त्रणमा लिनुभयो ।’ उनले आइतबार जाँच गर्न नभ्याएकाले आज (सोमबार) गरिने बताए ।