धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित तीनकुनेमा चेकजाँचको क्रममा प्रहरीलाई छलेर भाग्नेबाट २९ केजी गाँजा बरामद गरेको छ । 

सोमबार छलेर भागेपछि प्रहरीले पिछा गरेको थियो । पिछा गर्ने क्रममा कोशी राजमार्गस्थित सेउती खोलाको पुलनजिकै आफै अनियन्त्रित भई मोटरसाइकल लडेपछि प्रहरीले मोटरसाइकलमा सवार युवालाई पक्राउ गर्न सफल भएको थियो । उक्त युवाले बोकेको जेब्रा झोलाबाट २९ केजी गाँजा बरामद गर्न सफल भएको छ भने मोटरसाइकल चालक फरार भएका छन् ।

धरानबाट इटहरीतर्फ जाँदै गर्दा शङ्का लागी धरान–८ तीनकुनेमा जाँच गर्न खोज्दा प्रहरीलाई छलेर भागेपछि प्रहरीले पिछा गरेको थियो । त्यसक्रममा सेउती खोलानजिकै आफै अनियन्त्रित भई लडेपछि चालक भागेका थिए भने पछाडि सवार धनकुटा सहिदभूमि गाउँपालिका–२ का २१ वर्षीय सुरेश सिवालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको झोला चेक गर्दा दुईवटा जेब्रा झोलामा २९ केजी गाँजा बरामद गर्न सफल भएको हो । प्रहरीका अनुसार बा.८३ प २९०४ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आरोपित सिवालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै लागूऔषध मुद्दामा फरार रहेका प्रतिवादी धरान उपमहानगरपालिका–१ का ४४ वर्षीय सिगबहादुर तामाङलाई पक्राउ गरी जरिबाना असूल गरेको छ । जिल्ला अदालत मोरङबाट २०६२ माघ २२ गते गरेको फैसलाअनुसार उनलाई नगद पाँच सय रुपैयाँ जरिबाना असूल गर्न बाँकी रहेको थियो । उक्त फैसलापश्चात् उनी फरार रहेका थिए । उनलाई धरानबाटै पक्राउ गरी जरिबाना असूल गरिएको प्रहरीले जनाएको छ ।