इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा आधुनिक बसपार्क सम्झौताअगावै निर्माण सम्पन्न भएको छ ।
नौ करोड ४८ लाख ८३ हजार पाँचसय ५६ रुपैयाँको लागतमा आधुनिक बसपार्क निर्माण भएको हो । सम्झौताअनुसार २०८२ असार १७ गते सम्पन्न गर्नुपर्ने थियो । २०८० पुस १७ गते श्रीअर्थ हाम्रो श्रीमान् कम्पनीले निर्माणको ठेक्का सम्झौता गरेको थियो । चार महिनाअगावै निर्माण सम्पन्न गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी थालेको कम्पनीका ठेकेदार अङ्कुर गौतमले जानकारी दिए । ‘निर्माण सकिएको छ, अब हस्तान्तरणका लागि केही समय माग गरी नगरलाई पत्राचार गरिसकेका छौँ’–ठेकेदार गौतमले भने ।
बसपार्क एक बिघा क्षेत्रफलमा निर्माण भएको छ । तीन तलामा निर्मित भवन व्यावसायिक प्रयोजनसहितको रहेको जनाइएको छ । निर्वाचनका बेला नेपाली काङ्ग्रेसबाट प्रमुखको उम्मेदवार बनेका हेमकर्ण पौडेलले इटहरीमा सुविधासम्पन्न भवन निर्माण गर्ने घोषणा–पत्रमा उल्लेख गरेका थिए ।
नगर प्रमुख पौडेलले आफू नगर
प्रमुखमा निर्वाचित भएपछि घोषणा पत्रको प्रतिबद्धताअनुसार काम गरेको बताए ।
नगर विकास कोषको ७० प्रतिशत र नगरको ३० प्रतिशत लागत साझेदारीमा निर्माण
गरिएको हो । यात्रुहरूलाई असुविधा भएपछि बसहरू पनि बसपार्क नआई भित्री
बाटो हुँदै सिधै मुख्य राजमार्गमा निस्किने गरेका थिए ।