काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालबारे कडा अभिव्यक्ति दिएका छन् । सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने स्पष्ट पारेका हुन् ।

सञ्चार मन्त्रालयले  चैत ७ गते सूचना निकालेर एक महिनाभित्र फेसबुक दर्ता हुन आह्वान गरेको थियो । सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुकलगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे । उनले सामाजिक सञ्जालसम्बन्धी कानून कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभई नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारे ।