भद्रपुर । झापाको भद्रपुरसहित विभिन्न नाकाहरूबाट लाखौँ मूल्य बराबरका अवैध सामग्री तस्करी भइरहेको पाइएको छ ।

प्रहरीले शनिबार राति करिब ८ बजे भद्रपुर–९ घोडामाराबाट पिकअपसहित करिब ३४ लाख ८७ हजार मूल्य बराबरको अवैध सामान बरामद भएपछि तस्करी हुने गरेको पुष्टि भएको हो । तस्करले भारततर्फको कोदोमुनी नयाँ हाट नाका हँुदै नेपालतर्फको मेची दोभान नाकाबाट भन्सार छलेर सामान नेपाल भित्र्याउँदा घोडामारा प्रहरी चौकीबाट खटिएको टोलीले बरामद गरेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार भारतबाट नेपालतर्फ भन्सार छली बा. १८ च ४६१६ नम्बरको पिकअप गाडीमा ल्याउँदै गरेको मोबाइल फोनको पाटर्सबरामद गरिएको हो । भारतबाट ल्याएर गणेश मन्दिर पूर्व कटेरोमा जम्मा गरी पिकअपमार्फत् ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको थियो । 

प्रहरीले  मोबाइल फोनको पाटर््स २० कार्टुन अन्दाजी २९ लाख ८७ हजार २ सय बराबरको सामान र गाडीको अन्दाजी मूल्य ५ लाख कायम गरी पिकअप चालक भद्रपुर–५ का २३ वर्षीय राहुल कामतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गाडी र सामानसहित कामतलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएकोे जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

त्यस्तै शनिबार नै अन्दाजी राति ९ बजे १८ लाख १० हजार २ सय पचाँस रुपैयाँ मूल्य बराबरको मोबाइलमा प्रयोग हुने पाटर््स बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले अर्जुनधारा–६ छाताचौकमा बेवारिसे अवस्थामा प्लास्टिकको बोरामा पोको पारी राखेको अवैध सामान बरामद गरिएको उनले जनाए । 

बरामद गरिएका सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको उनले जनाए । भद्रपुरबाट चालकसहित बरामद गरिएका सामान भन्सारले बुझ्न नमानेपछि पुनः प्रहरीले मेची भन्सार लगेको थियो ।