इनरुवा । बराहक्षेत्र कोकाहा संगममा नुहाउने क्रममा मामा भान्जा डुबेर बेपत्ता भएको घटनामा सुनसरी प्रशासनले मन्दिर व्यवस्थापन समितिसँग जवाफ मागेको छ ।
स्नान गर्ने तटीय क्षेत्रमा भरपर्दो व्यवस्थापन मिलाउन नसकेको भन्दै प्रशासनले मन्दिर व्यवस्थापन समितिसँग जवाफ मागेको हो । घटना लगत्तै कोकाहा संगम पुगेका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले व्यवस्थापन तयारी चित्तबुझ्दो नदेखिएको भन्दै मन्दिर व्यवस्थापन समितिलाई दुई दिन भित्रमा उचित निर्णयसहितको लिखित जवाफ पेश गर्न भनेका छन् ।
प्रजिअ मिश्रसहित बराहक्षेत्र पुगेको जिल्ला सुरक्षा समितिको टोलीले बेपत्ताको खोजीमा सुरक्षाकर्मीले जारी राखेको खोज तथा उद्दार कार्यको निरीक्षण समेत गरेको छ । घटनास्थल पुगेर वस्तुस्थिति बारे जानकारी लिएको सुरक्षा समितिले नदीमा स्थान गर्ने क्रममा अपनाउनु पर्ने सावधानीका बारे व्यवस्थापन समितिले पर्याप्त कार्य गरेको नपाइएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मिश्रले मन्दिर समितिलाई दुई दिनको समय दिएको बताए । मन्दिर व्यवस्थापन समितिका तर्फबाट चित्त बुझ्दो निर्णय नआएमा जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए । प्रजिअ मिश्रले मन्दिर क्षेत्र र कोशी तटको स्नान क्षेत्रमा खटिने खोज तथा उद्दार टोली सहित र सुरक्षाकर्मीको उपस्थितिलाई चुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन समेत दिए ।

सुनसरीका प्रहरी प्रमुख सुमन तिम्सिनाले कोकाहा संगम क्षेत्रको स्नानलाई सुरक्षित बनाउन निश्चित परिधि तोकी कार्यान्वयनमा ल्याइने बताएका छन । खोज तथा उद्दार कार्यमा खटिने गोताखोर सहितको सुरक्षाकर्मी टोलीलाई तैनाथ राखिएको तिम्सिनाले बताए ।
विहान बराहक्षेत्र दर्शन गर्न पुगेका तिर्थालु कोकाहा संगममा नुहाउने क्रममा पछिल्लो घटना भएको हो । इटहरी बालग्राम घर भएका एकै परिवारका सदस्यहरु मन्दिर दर्शनको लागि बराहक्षेत्र पुगेका थिए ।
सो क्रममा कोकाहा संगममा नुहाउने क्रममा १६ वर्षिय जेनिस आचार्य डुबेका थिए । उनलाई बँचाउन खोज्दा जेनिसका मामा वर्ष ४८ का नवराज बास्तोला समेत कोशी नदीमा डुब्न पुगेका थिए ।
परिवारका अनुसार नदीले बगाएका मामा भाञ्जालाई समयमै उद्दार गर्न नसक्दा डुबेर बेपत्ता भएका छन । आफन्तले मन्दिर क्षेत्र भएर पनि स्थान गर्ने नदी किनारमा सुरक्षाको भरपर्दो वन्दोवस्ती नभएको बताए । नदीमा बगेका आफन्तको तत्कालै उद्दार हुन नसक्दा दुखद घटना हुन पुगेको उनीहरुको गुनासो छ । बेपत्ता मामा भाञ्जाको खोजीमा गोताखोर सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।