धरान । सुनसरीको धरानमा बिहीबारबाट ‘धरान रोजगार मेला’ सुरु भएको छ । धरानको पब्लिक हाई स्कुल परिसरमा सुरु भएको धरान रोजगार मेलामा पाँच हजार जना रोजगार खोजकर्तालाई सहभागी गराउने लक्ष्य लिएको छ ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरे । रोजगारदाता र रोजगार खोजकर्तालाई एकै ठाउँमा भेला गराउने उद्देश्यले कार्यक्रम गरिएको हो । धरान उपमहानगरपालिका प्रशासन महाशाखाका प्रमुख वेदप्रसाद सापकोटाका अनुसार एक हजार ७६ जनालाई रोजगारको अवसर सिर्जना गरिएको छ । यसमध्ये विभिन्न समयदेखि हालसम्म धरानमा रोजगार खोज्दै आउनेको सङ्ख्या चार हजार ३ सय पुगिसकेको छ । ‘यसमा पाँच हजार पु¥याउने हाम्रो लक्ष्य हो’ उनले भने, ‘आज १२ जनाले तत्कालै रोजगार प्राप्त गरेका छन् ।’
दुई दिने रोजगार मेलामा ३० वटा स्टल छन् । आज (शुक्रबार) सम्म चल्ने रोजगार मेलामा विभिन्न खालका रोजगार सिर्जना गरिएको छ । जसमा रोजगारदाताहरूले पनि आफूलाई चाहिने आवश्यक श्रमिकको खोजी गरेका छन् । सोअनुसार एक हजार ७६ जनाले तत्कालै रोजगार प्राप्त गर्ने जनाइएको छ । जसमा कम्प्युटर अपरेटर, अकाउन्टेन्ट, सेल्स, कुक, वेटर, नर्स, अनमी, सिएमए, मेसिन अपरेटरलगायत पदमा जागिर खुलेको छ ।
मेलामा रोजगारदातालाई श्रमिक र श्रमिकलाई रोजगार सिर्जना गर्ने लक्ष्य रहेको छ । श्रमिकको योग्यता, क्षमता र सीपको आधारमा काम प्राप्त गर्ने जनाइएको छ । रोजगार खोजिरहेकाहरूको नाम सूचीकृत गरिने प्रशासन प्रमुख सापकोटाले जानकारी दिए । धरान उपमहानगरपालिकाको आयोजना र सुनसरी उद्योग वाणिज्य सङ्घको संयोजनमा कार्यक्रम भइरहेको छ । यस्तै कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्य रहेको छ ।