विजयपुर ।  उदयपुरस्थित बेलकामा साताव्यापी पर्यटन महोत्सवको उद्घाटन गरिएको छ ।

मंगलबार ‘बेलकाको जल, जमिन र आकाशमा रमाऔंः ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक र साहासिक पर्यटन प्रवद्र्धन गरौं’ नारासहित महोत्सव उद्घाटन गरिएको हो ।  उदयपुरको ऐतिहासिक स्थल बेलका राजा बेलका रानीको दरबारको भग्नावशेष स्थल बेलका तरीस्थित सुनखानीमा नगर प्रमुख अशोक कार्कीले पर्यटन महोत्सवको उद्घाटन गरे । महोत्सव उद्घाटनका अवसरमा स्थानीय थारू जातिको सांस्कृतिक नृत्य तथा झाँकी प्रदर्शन गरिएको छ ।  महोत्सवको उद्घाटपछि वैशाख २ गतेदेखि ५ गतेसम्म पर्यटकहरूलाई बेलकाका पर्यटकीय स्थलको भ्रमण गराइनेछ । 

वैशाख–६ गते जल, जमिन, आकाशका सहासिक खेलहरूको प्रतिस्पर्धात्मक प्रतियोगिता राखिएको  बेलका नगरस्तरीय पर्यटन समितिका सचिव तथा बेलका पर्यटन महोत्सवका सदस्य सचिव टंक फुयाँल शर्माले जानकारी दिए । 

साइक्लिङ, ¥याफ्टिङ र बोटिङ प्रतियोगितामा आन्तरिक तथा बाह्य पर्यटकहरू प्रतिस्पर्धीका रुपमा सहभागी हुने छन् । प्रतियोगिताका उत्कृष्ट सहभागीले क्रमशः २५ हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । पहिलो पुरस्कार होटल कोशी प्यालेसका सञ्चालक सम्पत राईले प्रदान गर्नेछन् । दोस्रो पुरस्कार फ्लाइअण्डर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक सुरेश गुरुङ र तेस्रो पुरस्कार बेलका बिच रिसोर्टका सञ्चालक रमण भट्टराईले प्रदान गर्ने छन् । 

यस्तै पर्यटन महोत्सवकै अवसरमा होटल तथा पर्यटन व्यवसायीलाई सम्मान गरिने छ । पर्यटन महोत्सवका अवसरमा आगन्तुकलाई स्थानीय होटल व्यवसायीले २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । 

महोत्सवलाई सफल बनाउन बेलका होटल व्यवसायी संघले ५० हजार रुपैयाँ सहयोग गरेको छ । 

पर्यटन महोत्सव बेलका होटल तथा पर्यटन व्यवसायी संघ बेलका उदयपुर, उदयपुर विकास समिति त्रियुगा, बेलका नगरपालिका रामपुर उदयपुरले संयुक्त आयोजना गरेको हो ।

पर्यटन महोत्सवका क्रममा बेलका नगरपालिकाका ३० वटा पर्यटकीय केन्द्रको प्रवर्धन गरिने नगर प्रमुख अशोक कार्कीले बताए । 

औपचारिक कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले नीतिगत रुपमै बेलकाको पर्यटन प्रवर्धनका लागि नगरले भूमिका सुरु गरेको बताए । बेलका नगरपालिकाले कोशीटप्पु वन्यजन्तु आरक्ष, सप्तकोशी नदी, वराहक्षेत्र, पाथीभरा, हलेसीलगायतका धार्मिक र पर्यटकीय क्षेत्रको ट्रान्जिटका रुपमा बेलकालाई विकास गर्ने नगर प्रमुख कार्कीले बताए । कोशी प्रदेश होटल व्यवसायी संघका सदस्य तथा बेलका होटल व्यवसायी संघका अध्यक्ष रमण भट्टराईले ऐतिहासिक स्थलबाट ऐतिहासिक महोत्सवको आयोजना गरेको बताए । उनले भारतीय पर्यटकलाई आकर्षित गर्न बेलकाका महाभारत रेन्जका स्थलहरूको प्रवर्धन गर्न आवश्यक रहेको बताए । उनले बेलकाको पर्यटन प्रवर्धनका लागि पर्यटन तथा होटल व्यवसायीले सहयोग गर्ने बताए । 

महोत्सवको उद्घाटन समरोहको सभाध्यक्षता बेलका पर्यटन विकास समितिका संयोजक शिव थापाले गरेका थिए । बेलका नगरपालिकाका प्रमुख अशोक कार्की भने, ’बेलकाको पर्यटन प्रवर्धनका लागि नगरले नीतिगत रुपमै भूमिका सुरु गरेको छ ।’