विजयपुर । धरान उपमहानगरपालिकामा गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।
शनिबार धरान १३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो गाँजासहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले भेँडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबी २२४१ नम्बरको भारतीय स्कार्पियो जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राईका अनुसार गाडीको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेको हो । गाडीसहित भारत बिहार राज्य सुपौल जिल्ला बलुवा बजार–६ का २२ वर्षीय चालक सुबिध कुमार, सोही ठाउँका २२ वर्षीय रोहित कुमार र सुपौल बजार–१ का ४० वर्षीय मोहम्मद जमशेरलाई नियन्त्रणमा लिइएको हो । उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।