विजयपुर । झापा, मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ परेका छन् ।

शनिबार झापा र मोरङबाट तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो । यस्तै, सुनसरीबाट तीन जनालाई गाँजासहित पक्राउ गरिएको कोशी प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार शिवसतासी नगरपालिका–९ का गंगा बहादुर मगरलाई १२ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । त्यस्तै, बिर्तामोड नगरपालिका–२ का हरि प्रसाद राजवंशीलाई ३ ग्राम २० मिलिग्राम र मेचीनगर नगरपालिका–७ का अमिल लिम्बुलाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै, सुनसरीको धरान–३ कोशी राजमार्ग क्षेत्रमा गाँजा बोकेको स्कार्पियो गाडीसहित तीन जना पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चेकजाँचका क्रममा बिआर १० पिबी २२४१ नम्बरको गाडीको सिटमुनी लुकाई राखेको अवस्थामा १५ किलोग्राम गाँजा बरामद गरेको हो । प्रहरीले भारत सुपौलका सुवोध कुमार, रोहित कुमार र मोहम्मद जमशेदलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।