विजयपुर । पाँचथरको फालेलुङ गाउँपालिकाअन्तर्गत चारराते–फालोट क्षेत्रमा विगत नौ वर्षदेखि आयोजना हुँदै आएको चौँरी पर्यटन महोत्सवले स्थानीय चौँरीपालकलाई प्रत्यक्ष फाइदा पु¥याएको छ ।
वि.सं. २०७४ देखि समुद्री सतहबाट करिब तीन हजार ५०० मिटर उचाइमा पर्ने फालोट क्षेत्रमा सुरु भएको महोत्सवले चौँरीपालन प्रवद्र्धनसँगै चौँरीजन्य सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सहयोग गरेको छ । पछिल्लो समय चौँरी गोठहरू नै पर्यटक बस्ने ‘गोठ–बास’ (गोठ–स्टे) का रूपमा विकास हुँदै गएका छन् भने पूर्वाधार विस्तार पनि क्रमशः भइरहेको छ ।
फालोट याक गोठबासका सञ्चालक तथा अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार महोत्सव सुरु भएपछि गोठालामा उत्साह थपिएको छ । २०७४ अघि १८ वटा मात्रै रहेका गोठ अहिले बढेर ३१ पुगेका छन्। “पहिले पुरुष मात्रै गोठमा बस्ने चलन थियो, अहिले युवा र महिलासमेत आकर्षित भएका छन्,” उनले भने, “गोठहरू सुधारिएका छन् र पर्यटक बस्ने व्यवस्था पनि गरिएको छ।”
हाल करिब १०–१२ वटा गोठमा मात्र ‘गोठ–बास’ सुविधा उपलब्ध छ, जहाँ सन्दकपुर आहालदेखि फालोटसम्मका गोठमा गरी झण्डै १५० जना पर्यटक बास बस्न सक्छन् । नेपालका अनुसार वार्षिक कम्तीमा पाँच हजार पर्यटक उक्त क्षेत्रमा पुग्ने गरेका छन् । तर, असारदेखि भदौसम्मको वर्षायाममा गोठ गाउँतर्फ झारिने हुँदा पर्यटक आगमन प्रभावित हुने गरेको छ ।
पहिले घ्यू र छुर्पीमा सीमित चौँरीजन्य उत्पादन अहिले चिजसम्म विस्तार भएको छ । महोत्सवकै कारण बजार विस्तार भएको, सरकारी सहयोग बढेको र पर्यटक आगमनमा वृद्धि भएको स्थानीयको भनाइ छ ।
कञ्चनजङ्घा याक चिज उत्पादक समूहका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार पछिल्ला वर्षहरूमा चौँरीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । चौँरीपालनमा आधारित जीविकोपार्जन गर्नेको सङ्ख्या बढ्नुका साथै पर्यापर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको छ ।
उनका अनुसार चौँरीका सिङ, पुच्छर र हाडखोरजस्ता सामग्री पनि बिक्री हुने गरेका छन्, जसले गोठालाको आम्दानीका विविध स्रोत विस्तार गरेको छ । साथै ताप्लेजुङ र भूटानबाट याक ल्याई उन्नत प्रजातिको विकास गर्ने प्रयास भइरहेको छ, जसअन्तर्गत हालसम्म ४० भन्दा बढी चौँरी उत्पादन भइसकेका छन् । उनले चौँरीमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्न सरकारसँग मागसमेत गरेका छन् ।
चौँरीजन्य उत्पादनको बजार उपलब्ध भए पनि मूल्य अपेक्षाकृत कम भएको गुरुङको गुनासो छ। “जडीबुटी चराएर उत्पादन हुने चौँरीको दूध र गाईको दूधजन्य सामग्रीको मूल्य लगभग समान छ, जसले लागत उठाउनै कठिन बनाउँछ,” उनले भने ।
यस वर्ष महोत्सवमा पाँचथरकै याङरुमा उत्पादन गरिएको भेडाको घ्यू पनि प्रदर्शनमा राखिएको थियो । अत्यधिक मेहनत लाग्ने भएकाले भेडाको घ्यू प्रतिकिलो करिब १२ हजार रुपैयाँमा बिक्री हुने बिक्रेता लोकेश गुरुङले बताए । उनले उत्पादन कठिन भए पनि माग उच्च रहेको उल्लेख गर्दै राज्यबाट सहयोग आवश्यक रहेको बताए ।
हरेक वर्ष नयाँ वर्षको अवसरमा आयोजना हुने यो महोत्सवमा नेपालका विभिन्न जिल्लासहित भारत, भूटान र बङ्गलादेशबाट पर्यटक आउने गरेका छन् । महोत्सवमा सयौँ चौँरीको बथान अवलोकन, नेपाल–भारत–भूटानका हिमशृङ्खलाको दृश्यावलोकन तथा गुराँस र चिमलका फूलले सजिएको प्राकृतिक सौन्दर्य अवलोकन गर्न पर्यटक आकर्षित हुने गरेका छन् । फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूका अनुसार हिमाली जीवनशैली, संस्कृति र प्रकृतिको संगमले यो क्षेत्र पर्यटकका लागि विशेष आकर्षणको केन्द्र बन्दै गएको छ । रासस