विजयपुर । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले टोकन प्रणाली लागू गरेको छ ।
सोमबारदेखि सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरिएको हो । कार्यालयले अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गर्दै सेवाग्राहीमैत्री सेवा दिने उद्देश्यले प्रणाली कार्यान्वयनमा ल्याएको कार्यालयका सूचना अधिकारी मोहनसिंह दर्जीले बताए । उनका अनुसार सेवाग्राहीले भोग्दै आएको भीडभाड तथा लामो समयसम्म पर्खिनुपर्ने समस्यालाई कम गर्न टोकन प्रणाली लागू गरिएको हो । जनशक्ति, क्षमता र संरचनालाई ध्यानमा राखी दैनिक सेवा व्यवस्थापन गरिने उनले बताए । उनका अनुसार ६ मोठ फाँटबाट प्रत्येकमा २५ टोकन वितरण गरिनेछ । जसअनुसार दैनिक करिब १५० लिखत पारित तथा निर्णयसम्बन्धी कार्य टोकन प्रणालीमार्फत सञ्चालन हुनेछन् ।
सूचना अधिकारी दर्जीका अनुसार टोकन बिहान ९ बजे दर्ता–चलानी शाखा र नागरिक सहायता कक्षबाट वितरण गरिनेछ । सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजातसहित स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । सेवा प्रवाहको क्षमता र विस्तारसँगै आगामी दिनमा टोकन सङ्ख्या बढाउने योजना रहेको उनले बताए । टोकन प्रणालीमार्फत लिखत पारित, संशोधन, नामसारी, दाखिला खारेज, प्रतिलिपि, रोक्का तथा अद्यावधिकसम्बन्धी सेवा प्रदान गरिनेछ । फुकुवा, वर्गीकरण, स्रेस्ता उतार, हालसाबिक तथा भूमिसुधार फाँटसम्बन्धी कार्यका लागि भने टोकन आवश्यक नपर्ने सूचना अधिकारी दर्जीले बताए ।
यसैबीच कार्यालय परिसरमा अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरिएको छ । सेवाग्राहीले अब परिचय खुल्ने कागजात देखाएर मात्र कार्यालय प्रवेश पाउने व्यवस्था गरिएको सूचना अधिकारी दर्जीले बताए । सेवाग्राहीको काम सहजीकरणका लागि आवश्यक परेमा मात्र भू–सेवा सञ्चालक, कानुन व्यवसायी तथा लेखापढी व्यवसायीलाई प्रवेश अनुमति दिइने छ । यस्ता व्यक्तिले कार्यकक्षभित्र अनियमित गतिविधि दोहोर्याए थप कडाइ गरिने कार्यालयले जनाएको छ । रासस