विजयपुर । सुनसरीको कोशी गाउँपालिका–२ सरदार टोलस्थित एक घरबाट गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले प्राप्त सूचनाको आधारमा आइतबार पक्राउ गरेको हो । देवकी सरदारको घरमा खानतलासी गर्दा किराना पसलमा लुकाइछिपाइ राखिएको अवस्थामा ७५.३३ किलोग्राम गाँजा बरामद गरेको हो । घटनामा संलग्न सोही स्थान बस्ने ७० वर्षीय लक्ष्मी सरदार, ४२ वर्षीया देवकी सरदार तथा भारतको बिहार राज्य अररिया जिल्ला तिन खम्बा बेलहा बस्ने २६ वर्षीय सहवाज आलमलाई नियन्त्रणमा लिएको छ । सहवाज आलमले प्रयोग गरेको बिआर ३८ एजी ०५५९ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । गाँजासहित मोटरसाइकलसमेत उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।