विजयपुर । सुनसरीको इटहरी–१९ ब्रहमपुरबाट लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार लागू औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी र सामुदायिक प्रहरी बिट गैसारबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी–१९ ब्रहमपुरका ३८ वर्षीय चक्रबहादुर जिमीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले जिमीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ब्राउन सुगर २४ दशमलव ४४ ग्राम बरामद गरेको हो । जिमीको साथबाट १९ हजार ९ सय ८० रुपैयाँ र को ३९ प ३१२३ नम्बरको रोयल इनफिल्ड मोटरसाइकल तथा भिभो कम्पनीको एउटा मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ । जिमीलाई बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।