विजयपुर । जिल्ला प्रहरी कार्यालय सुनसरीले सात जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा बुझाएको छ ।
अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका सात जना कसूरदारलाई पक्राउ गरेको हो । शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइबाट खटिएको टोलीले सुनसरी जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय सुनसरीको फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार व्यक्तिहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा चोरी मुद्दाका धरान–१५ का तेजबहादुर श्रेष्ठ, अभद्र व्यवहार मुद्दाका धरान–१५ का मनोज विश्वकर्मा, चोरी मुद्दाकै बराहक्षेत्र–६ का ज्ञानेन्द्र विष्ट, बिगो मुद्दाका देवानगञ्ज–७ का सतिस चन्द्र यादव, चेक अनादर मुद्दाका इटहरी–१८ का सविनकुमार खतिवडा, चोरी मुद्दाकै धरान–१ की दिपका ऋषिदेव तथा केही सार्वजनिक अपराध मुद्दाका बराहक्षेत्र–१० का भरत पौडेल रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये तेजबहादुर श्रेष्ठले ५ हजार रुपैयाँ जरिवानासहित १८० दिन कैद र सतिस चन्द्र यादवले ७३० दिन कैद भुक्तान गर्न बाँकी रहेको छ । अन्य पक्राउ परेकाबाट विभिन्न मुद्दाअनुसार जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।