विजयपुर । धरान उपमहानगरपालिकाले दर्ता बिना नै सञ्चालन तथा गुणस्तर परीक्षणमा फेल भएका चार उद्योगको उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ । साथै एक होटलको किचेन सुधार गर्न निर्देशन दिएको छ ।
बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त अनुगमन टोलीले नीति विपरीत सञ्चालन भइरहेका उद्योग तथा व्यवसायमाथि कारबाही गरेको हो ।
अनुगमनका क्रममा दर्ता नभई सञ्चालन भएका तथा परीक्षणमा असफल उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक लगाइएको जनाइएको छ ।
कारबाहीमा पर्ने उद्योगमध्ये धरानस्थित एमएस खाद्य उद्योग रहेको छ । धरान–१५ को धरान एक्वा पानी उद्योगको उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ । त्यस्तै, सिताज मार्टमा लेबल नभएका खाद्य सामग्रीको बिक्री वितरण रोकिएको छ ।
यस्तै, धरान औद्योगिक क्षेत्रभित्र सञ्चालित धरान डेरी फुड प्रोडक्ट्स प्रालिले उत्पादन गर्दै आएको दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्री वितरणमा पनि रोक लगाइएको छ ।
धरान–१५ स्थित मेरिकेन होटलमा प्रयोग हुने किचेन* सुधार गर्न निर्देशन दिइएको जनाइएको छ ।