विजयपुर । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–५ का २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम लागू औषधसहित पक्राउ गरेको हो । यस्तै, मेचीनगर नगरपालिका–१० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मिया १ ग्राम ६ सय मिलिग्राम र इलाम माईजोगमाई गाउँपालिका–१ घर भई बिर्तामोड बस्ने २४ वर्षीय फुर्वा तामाङ ३ ग्राम ६ सय १० मिलिग्राम लागू औषधसहित पक्राउ परेका छन् । यस्तै, इलाका प्रहरी कार्यालय झिलझिलेले ५ सय ८६ ग्राम गाँजासहित शिवसताक्षी नगरपालिका–९ की ४३ वर्षीया आशा चौधरीलाई पक्राउ गरेको छ ।
यसैगरी सुनसरीमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय इटहरीको टोलीले विभिन्न स्थानबाट ६ जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । इटहरी–१ की ३६ वर्षीया प्रगती खटिवडा र इटहरी–५ का ३१ वर्षीय बिश्वराज राईलाई १० ग्राम ब्राउन सुगरसहित इनरुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै इटहरी–२ का २९ वर्षीय रविन प्रधान, धरान–२ का १९ वर्षीय अतित भण्डारी र मोरङ सुन्दरहरैँचा–४ की अम्बिका ओझालाई १ सय १० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । यस्तै अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङको टोलीले स्कुटरमा सवार कानेपोखरी–५ का ३३ वर्षीय वीरबहादुर घिसिङ र कानेपोखरी–७ का ३७ वर्षीय सन्तोष लिम्बुलाई १२ ग्राम ८ सय ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।