विजयपुर । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित १५ जनालाई पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार झापाको गौरीगंज गाउँपालिका–२ बाट इलाका प्रहरी कार्यालय गौरीगंजको टोलीले भारतकी रुकमणी देवी र उनकी छोरी कोमल कुमारी हरिजनलाई २० ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका–६ का दुखु मियाँलाई २ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले झापा गाउँपालिका–५ का मिलनकुमार राजवंशी र कनकाई नगरपालिका–७ की सरु कार्की डोलीलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले चन्दनकुमार बहदार, प्रबिन विक, अमर राई, आइतसिंह तामाङ, समिर तामाङ र सुभराज राईलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल हाइड्रोक्लोराइड २९० क्याप्सुल, स्पास्मो १५० ट्याब्लेट, एन्टिकोफ १५० ट्याब्लेट तथा २७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी भोक्राहानरसिंहले सोही क्षेत्रका नियाउद्दिन आलमलाई ६२ ग्राम गाँजा र २५ ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बाङ्गेले बराहक्षेत्र नगरपालिका–७ की रचना राई र अरुणा विकलाई १२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिका–२ का संजोग राई, जितबहादुर राई र पुष्पा प्रधानलाई ६ ग्राम ९७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।