विजयपुर । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार इनरुवा नगरपालिका–३ विद्युत प्राधिकरण नजिक चेकजाँचका क्रममा को १६ प ८०९८ नम्बरको मोटरसाइकलबाट ५.५५ ग्राम ब्राउन सुगर बरामद गरिएको हो । उक्त मोटरसाइकल चालक रामधुनी नगरपालिका–३ का १७ वर्षीय रुपेश चौधरीलाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । इटहरी उपमहानगरपालिका–४ सगरमाथा टोलबाट २९ वर्षीय अभिषेक चौधरीको घरमा खानतलासी गर्दा १.५४ ग्राम ब्राउन सुगर फेला परेको थियो । प्रहरीले उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै, बराहक्षेत्र नगरपालिका–५ अमाहा सिमसार वन क्षेत्र अन्तर्गत कालाबन्जार–धरान सडकखण्डमा भारतको बिहार राज्य, अररिया जिल्ला बेलाहाका २० वर्षीय दयानन्द यादवलाई पक्राउ गरिएको हो । उनको बिआर ३८ एएफ २६४६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १ हजार ६ सय ९० क्याप्सुल ट्रामाडोल र नगद २७ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई लागूऔषध, मोटरसाइकल र नगदसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, इटहरी–११ सिमरवना नहर क्षेत्रमा प्रहरीले स्थानीय २० वर्षीय अभिषेक श्रेष्ठलाई पक्राउ गरेको छ । उनको साथबाट ९ सय ८० क्याप्सुल ट्रामाडोल र १ हजार १ सय ८० ट्याब्लेट स्पासपेन बरामद भएको प्रहरीले जनाएको छ । उनीहरू चारै जनालाई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।