विजयपुर । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ ।


विभिन्न प्रहरी इकाइहरूले सञ्चालन गरेको विशेष चेकजाँच तथा निगरानी अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् । मेचीनगर नगरपालिका–१४ का आकाश चौधरीलाई १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । यसैगरी, दमक नगरपालिका–१० का सुरज राय र मोरङको विराटनगर महानगरपालिका–३ का बाबुराम दर्जीलाई १४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।


यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका–७ का बिनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ का सागर राईलाई ५ किलो ९० ग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ ।


मोरङमा अस्थायी प्रहरी चौकी कुशलबजारबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–८ का रबिन माझी, दुर्गा राई, पवन खत्री तथा कानेपोखरी गाउँपालिका–५ का रमल नेपालीलाई २ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।


यसैगरी, सुनसरीको अस्थायी प्रहरी चौकी जोरसखुवाले धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का बिनोद राई र विशाल राईलाई ३७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।