विजयपुर । श्रम संस्कृति पार्टी परित्याग गरेका धरान–१५ का पूर्ण गहतराज चेक अनादर मुद्दामा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईका अनुसार उनलाई चेक अनादर सम्बन्धी मुद्दामा आज नियन्त्रणमा लिइएको हो । उनले भने, “कैद तथा जरिवाना भुक्तानका लागि अदालतमा पेश गरिन्छ ।” जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अदालत तथा जिल्ला प्रशासन कार्यालयबाट भएका फैसला कार्यान्वयन गर्ने क्रममा ६ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धरान–१५ का पूर्ण गहतराज विक र रामधुनी–५ का मनिष भट्टराई रहेका छन् । उनीहरू दुवै जना चेक अनादर मुद्दामा दोषी ठहर भई जनही २ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, देवानगञ्ज–४ का हफ्राज मन्सुरी चोरी मुद्दामा दोषी ठहर भई १० हजार रुपैयाँ जरिवाना तथा ६३ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेकाले पक्राउ परेका हुन् ।
यस्तै, मोरङ सुन्दरहरैँचा–७ का मनोज ऋषिदेव सार्वजनिक अपराध मुद्दामा १ हजार ५ सय रुपैयाँ जरिवाना, सुन्दरहरैँचा–२ का ओमन राई लागूऔषध मुद्दामा २ हजार रुपैयाँ जरिवाना तथा बेलबारी–१ का सुरज गुरुङ अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको छ ।
प्रहरीले पक्राउ परेका प्रतिवादीहरूलाई सम्बन्धित अदालत तथा निकायमा पेश गरी फैसला कार्यान्वयन तथा जरिवाना असुली प्रक्रिया अगाडि बढाएको जनाएको छ ।