विजयपुर । जिल्ला प्रहरी कार्यालय सुनसरीले ६ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयन गर्न विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये मोरङ सुन्दरहरैँचा–७ का दिलीप चौधरी सार्वजनिक अपराध मुद्दामा ५ सय ७५ रुपैयाँ जरिवाना तथा सुन्दरहरैँचा–१ का अजित राई सोही मुद्दामा १ हजार ६ सय ७५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका थिए । त्यसैगरी, सुनसरी बराहक्षेत्र–३ का टेकबहादुर थापा चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको थियो ।
बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भएकी धरान–६ की शोभा दर्जीलाई दुई फरक मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीबाट एक मुद्दामा २ लाख ६८ हजार रुपैयाँ जरिवाना र ६० दिन कैद तथा अर्को मुद्दामा २ लाख २८ हजार ८ सय रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो ।
यस्तै, मोरङ बेलबारी–३ का विकास गुरुङ लागूऔषध मुद्दामा ११ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।