भद्रपुर । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको हत्या घटनामा नयाँ रहस्य बाहिर आएको छ ।
यौन प्रस्तावसँगै रकमको मोलमोलाइको कारण हत्या भएकोर उक्त घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक पक्राउ परका छन् । जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गरी भारतको अररिया घर भई दमकमा डेरा बस्दै आएका ३४ वर्षीय रमेशकुमार पण्डितलाई पक्राउ गरिएको जानकारी दिएको हो ।
प्रहरीले दिएको विवरण अनुसार घटनास्थललाई सूक्ष्म नीगरानी, प्राविधिक विश्लेषण तथा घटनास्थल वरपरको सिसी फुटेजको अध्ययन एवम् विश्लेषणका आधारमा संलग्न व्यक्तिको पहिचान गरिएको जनाएको छ । मृतक तिवारी १३ गते राति ९ बजे घरबाट निस्किएर बाटोमा हिँडिरहेको अवस्थामा आरोपित पण्डितसँग भेट भएको बताइएको छ ।
भेटपश्चात् आरोपितले मे.२ प ८२३ को होण्डा साइन मोटरसाइकलमा राखेर एटिएमबाट केही रकम निकालेर यौन कार्यका लागि मोलमोलाइ गरेको तर सोही क्रममा विवाद भएपश्चात् रमाको घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय झापाकी एसपी वसुन्धरा खड्काले बताइन् ।
घटनापछि आरोपितले कोठाबाट बोरा, प्लाष्टिकको पाइप र अर्को बीआर.३८ एम ३७७८ नम्बरको अपाचे मोटरसाइकल लिएर पुनः पाइपले घाँटीमा बाँधेर बोरामा हाली मोटरसाइकलमा राखेर मृतकलाई दमक–१० स्थित सेतुमारी पुलमुनि फालिएको घटनाक्रमले देखाएको उनले बताइन् । घटनापछि फरार रहेका पण्डितलाई खोजतलासका क्रममा बिहीबार राति १२ बजे आरापितकै कोठाबाट नियन्त्रणमा लिइएको उनले बताइन् ।
आरोपितको साथबाट विभिन्न कम्पनिको तीन थान मोबाइल, दुइटा मोटरसाइकल, आधार कार्ड, एटिएम फोटोसमेत बरामद गरिएको उनले जनाइन् । उनी दमक–५ मा डेरा गरी टायल्स मिस्त्रीको काम गर्दै आइरहेको उल्लेख छ । पक्राउ परेका पण्डितविरुद्ध जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको उनले जनाइन् । प्रहरीले उक्त घटनामा उनका निकटम साथीलाई पनि यसअघि नियन्त्रणमा लिई सोधपुछ गरेको थियो ।