विजयपुर । सुनसरीको बराहक्षेत्र नगरपालिका–७, सृजना टोलबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र–७ निवासी २५ वर्षीय रबि श्रेष्ठको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा श्रेष्ठको कोठाको धुरीमा लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर ५.१७ ग्राम, ‘एन’ लेखिएको सेतो ट्याब्लेट १६३ वटा, ४५ हजार ९ सय रुपैयाँ र एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद लागूऔषध, नगद र डिजिटल तराजुसहित श्रेष्ठलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।