विजयपुर । धरान-२० बाट प्रहरीले १ सय २० केजी गाँजा बरामद गरेको छ । प्रहरीले दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट परिचालित संयुक्त प्रहरी टोलीले धरान–२० स्थित च्यानडाँडा सिरान सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा कालो प्लास्टिकमा प्याक गरिएको १ सय २० केजी गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलामको चुलाचुली गाउँपालिका–३ का २६ वर्षीय विवेक राईलाई २ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । यस्तै इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इटहरी–१७ कान्छीचोकका २५ वर्षीय निशान कार्कीलाई १ ग्राम २ सय ९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै अभियुक्तविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै बरामद गाँजाको स्रोत र संलग्न व्यक्तिको खोजी कार्य पनि जारी रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।