विजयपुर । लागूऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट २ सय ९३ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।


कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न १० जनालाई पक्राउ गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूबाट २ सय ९३ ग्राम ४ सय ३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । प्रतिबन्धित औषधिका १ हजार ५ सय २ ट्याब्लेट, २१ क्याप्सुल, २१ बोतल सिरप तथा ६ लाख ७२ हजार ४ सय ३५ रुपैयाँ र दुई थान मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका भारत, पश्चिम बंगाल दक्षिण दिनाजपुरका ३२ वर्षीय चञ्चल सिकदारलाई २ सय ८९ ग्राम ७ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । घटनामा संलग्न जुम्लाको चन्दननाथ नगरपालिका–८ का २५ वर्षीय तेज रावललाई प्रदेश ०२–०२४ प ०१७७ नम्बरको मोटरसाइकल र ४ लाख ७१ हजार रुपैयाँ नगदसहित सुनसरीको कोशी गाउँपालिका–८ भान्टाबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, झापाको बिर्तामोड–४ बाट भारतका ३३ वर्षीय दिनेश कुमार चौधरीलाई २ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।


सुनसरीको इटहरी–१ मा कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ का ३२ वर्षीय मनोज काफ्ले र इटहरी–१ का २५ वर्षीय छत्रमान लिम्बुलाई १ ग्राम ३ सय १० मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल १० क्याप्सुल, डाइसाइक्लोमाइन ११ ट्याब्लेट, २ लाख १ हजार ४ सय ३५ रुपैयाँ नगद तथा को १० प ४११७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ । धरान–१८ बाट दिलिप चौधरीलाई ३ सय ३० वटा प्रतिबन्धित ट्याब्लेट र २१ बोतल सिरपसहित नियन्त्रणमा लिएको छ ।


त्यसैगरी धरान–२० बाट अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले धरान–१३ का सुजन थापा र मोरङको सुन्दरहरैँचा–५ का सुजित थापालाई २ सय ३२ वटा प्रतिबन्धित ट्याब्लेटसहित पक्राउ गरेको छ । उदयपुरका त्रियुगा–५ का दीपकराज पोखरेल र पुरन मगरलाई ओपिडोल ४ सय ९० चक्की र स्पास्पेन ४ सय ९० चक्कीसहित पक्राउ गरेको जनाएको छ ।


प्रहरीले सबै घटनामा पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ । साथै लागूऔषधमुक्त समाज निर्माणका लागि कारबाहीसँगै जनचेतना र मनोसामाजिक परामर्श कार्यक्रमलाई पनि निरन्तरता दिइने कोशी प्रदेश प्रहरीले जनाएको छ ।