वाशिङ्टन ।अमेरिकी सेनाले इरानमाथि पुनः ‘भारी’ हवाई प्रहार गरेको जनाएको छ। इरानले जोर्डनस्थित अमेरिकी सैन्य आधार र होर्मुज जलडमरूमध्यमा रहेका अमेरिकी पक्षका लक्ष्यतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहारको प्रयास गरेको एक दिनपछि अमेरिकाले बुधबार जवाफी कारबाही गरेको हो।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार आईआरजीसीका दर्जनौँ लक्ष्यमा प्रहार गरिएको थियो। सैन्य कमान्ड केन्द्र, क्षेप्यास्त्र तथा ड्रोन केन्द्र, तटीय निगरानी तथा रक्षा संरचना र समुद्री सैन्य क्षमतासम्बन्धी स्थानलाई निशाना बनाइएको सेन्टकमले जनाएको छ। अमेरिकी पक्षका अनुसार इरानबाट प्रहार गरिएका सबै क्षेप्यास्त्र रोकिएका थिए। आक्रमण करिब एक घण्टा चलेको थियो।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी आक्रमणको जवाफस्वरूप जोर्डनस्थित अमेरिकी हवाई आधार र कमान्ड केन्द्रमा प्रहार गरेको जनाएको छ। साथै, चेतावनी बेवास्ता गर्दै असुरक्षित तथा अवैध मार्ग प्रयोग गरेको आरोपमा होर्मुज जलडमरूमध्यमा तीन तेल ट्याङ्करमाथि आफ्नो नौसैनिक बलले कारबाही गरेको इरानको दाबी छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकमाथि भएको भनिएको आक्रमणको जवाफमा इरानमाथि कडा प्रहार गर्ने चेतावनी दिएका थिए। यसअघि शुक्रबार अमेरिकाले लगातार १३ रातसम्म चलाएको बमबारी अभियान रोकेको थियो, जसमा इरानका हतियार तथा सैन्य संरचना लक्षित गरिएको र ठूलो संख्यामा मानिसको मृत्यु भएको बताइएको थियो।

यसैबीच, अमेरिकाले साउदी अरबसँग मिलेर पूर्वी इराकमा इरानसमर्थित समूहका सैन्य तथा हतियार केन्द्रमा पनि आक्रमण गरेको थियो। सेन्टकमका अनुसार पछिल्लो ७२ घण्टामा आईआरजीसीको निर्देशनमा भएका ३० भन्दा बढी ड्रोन आक्रमणको जवाफमा उक्त कारबाही गरिएको हो। इराकको पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) ले आफ्ना कम्तीमा २० सदस्य मारिएको जनाएको छ।

इराकी राष्ट्रपतिले पीएमएफका आधारमा भएको अमेरिकी–साउदी आक्रमणलाई इराकको सार्वभौमिकताको उल्लंघन भन्दै निन्दा गरेका छन्। तर ट्रम्पले भने उक्त कारबाही इराकी सरकारसँग समन्वय गरेर गरिएको दाबी गरेका छन्।

केही दिनको तुलनात्मक शान्तिपछि पुनः चर्किएको यो द्वन्द्वको समाधानका लागि वार्ता सुरु भएको संकेत देखिए पनि इरानले वार्ता भइरहेको कुरा अस्वीकार गरेको थियो। ट्रम्पले भने वार्तालाई ‘मैत्रीपूर्ण’ बताएका थिए। फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गर्दा ट्रम्पले युद्ध केही सातामै सकिने बताएका थिए। तर द्वन्द्व पाँच महिनासम्म लम्बिएको छ र अन्त्यको स्पष्ट संकेत देखिएको छैन।

यसैबीच, साउदी अरब र इरानबीच क्षेत्रीय प्रभावका लागि दशकौँदेखि जारी प्रतिस्पर्धाले मध्यपूर्वको सुरक्षा तनावलाई थप जटिल बनाउँदै आएको छ।