किभ (एजेन्सी) रुसले युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा बुधबार मध्यरातपछि ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनमार्फत् आक्रमण गरेको छ ।
आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । उक्त आक्रमणमा परी करिब ४५ जना घाइते भएको जनाइएको छ । रुसले पछिल्लो समय युक्रेनको राजधानीलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिरहेको जनाइएको छ । यो हालसम्मकै सबैभन्दा घातक आक्रमण मानिएको छ । सो घटनापछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पर्याप्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली उपलब्ध भएको भए धेरै नागरिकको ज्यान बचाउन सकिने उल्लेख गरेका छन् ।
युक्रेनी आपत्कालीन सेवाका अनुसार किभ सहरमा जम्मा एक जनाको ज्यान जाँदा राजधानी आसपासको क्षेत्रमा १६ जनाको ज्यान गएको थियो । यस्तै किभ सहरमा १६ जना घाइते हुँदा आसपास क्षेत्रमा २९ जना घाइते भएको उल्लेख गरेको छ । आक्रमणका क्रममा आवासीय भवन, रेल स्टेसन, गोदाम र अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।
केही स्थानमा आगलागीसमेत भएको छ । आगोले करिब दुई लाख ३० हजार वर्गमिटर क्षेत्र प्रभावित भएको बताइएको छ । राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत् आफ्ना साझेदार राष्ट्रहरूसँग थप अमेरिकी प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली माग गर्दै आएको स्मरण गराएका छन् । युक्रेनको वायुसेनाका अनुसार रुसले यस आक्रमणमा २४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, ४ वटा जहाज विरोधी क्षेप्यास्त्र तथा १ सय १५ वटा ड्रोन प्रयोग गरेको थियो । तीमध्ये ९८ वटा ड्रोनलाई युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले खसाल्न सफल भएको दाबी गरिएको छ ।
उता, रुसी रक्षा मन्त्रालयले भने आक्रमण सैन्य उद्देश्यलाई लक्षित बनाएर गरिएको दाबी गरेको छ । मन्त्रालयका अनुसार किभ र आसपासका क्षेत्रमा रहेका हतियार भण्डारण केन्द्र, सैन्य सामग्री आपूर्ति केन्द्र तथा ड्रोन उत्पादन र वितरणसँग सम्बन्धित संरचनामाथि आक्रमण गरिएको हो । रुसले कृष्ण सागरस्थित ओडेसा बन्दरगाह नजिक रहेका तीनवटा मालवाहक जहाजलाई पनि निशाना बनाएको जनाएको छ । ती जहाजले हतियार तथा सैन्य उपकरण ढुवानी गरिरहेको दाबी रुसी पक्षले गरेको छ । युक्रेनी पक्षले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।