विजयपुर । सुनसरीको इटहरीमा प्रहरीले ब्राउन सुगरसहित सिटी सफारी चालक र एक यात्रुलाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा इटहरी–२ का २१ वर्षीय सञ्जीव पौडेल र मोरङको सुन्दरहरैंचा नगरपालिका–८ का ३२ वर्षीय सुमन कार्की रहेका छन् ।


प्रहरीका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले इटहरी–२ स्थित पशुपती चोकमा चेकजाँच गरेको थियो ।


पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००५ ह ४८३७ नम्बरको सिटी सफारी शंकास्पद लागेपछि प्रहरीले रोकेर चालक तथा सफारीमा सवार व्यक्तिको खानतलासी गरेको थियो ।


खानतलासीका क्रममा सिटी सफारी चालक पौडेल र यात्रु कार्कीको साथबाट ब्राउन सुगर ०.७१ ग्राम अर्थात् ७१० मिलिग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।


लागूऔषध फेला परेपछि प्रहरीले दुवै जनालाई उक्त पदार्थ र सिटी सफारीसहित नियन्त्रणमा लिएको थियो । उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।