यमनको लाल सागर तटमा रहेको मोखा (अल–मखा) बन्दरगाह सहरमा भएको मिसाइल तथा ड्रोन आक्रमणमा ७ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन्। यमनी सेनाका अनुसार मृत्यु हुनेमा चार सैनिक र तीन सर्वसाधारण छन्। घटना अगस्ट ९ मा भएको हो।
सैन्य अधिकारीहरूका अनुसार आक्रमणमा ब्यालिस्टिक मिसाइलसँगै ड्रोन प्रयोग गरिएको थियो। यमनी हवाई प्रतिरक्षा प्रणालीले आक्रमणका क्रममा ११ वटा ड्रोन खसालेको दाबी गरेको छ।
हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार आक्रमणको मुख्य लक्ष्य साउदी सैनिकको जमघट र हतियार भण्डारण केन्द्र थिए। यता, यमनी पक्षले भने आक्रमणका कारण आवासीय क्षेत्र तथा केही पूर्वाधारमा समेत क्षति पुगेको जनाएको छ।
मोखा क्षेत्रमा यसअघि भएको हमलाको २४ घण्टा नपुग्दै पुनः आक्रमण भएको हो। लगातार भइरहेका मिसाइल तथा ड्रोन हमलाले यमनमा कायम रहेको कमजोर युद्धविराममाथि दबाब बढाउनुका साथै लाल सागर क्षेत्रको सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको छ।