बोगोटा । पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २९४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम व्यवस्थापन एकाइ (ग्ल्न्च्म्) का अनुसार भूकम्पमा ३ हजार ९३५ जना घाइते भएका छन् भने ३२० जना अझै बेपत्ता छन्। उद्धार टोलीले भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखेको छ।

अगस्ट १० मा आएको भूकम्पले पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। काली र पेरेरासहितका सहरहरूमा भवनहरू भत्किएका छन् भने ठूलो संख्यामा मानिसहरू घरबारविहीन भएका छन्। भूकम्पबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ।

UNGRD का अनुसार भूकम्पबाट १५ विभागअन्तर्गतका ४४८ नगरपालिका प्रभावित भएका छन्। करिब १ लाख १५ हजार मानिस प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक विवरण छ। ८१ हजारभन्दा बढी घरमा क्षति पुगेको र करिब १४ हजार ५०० घर पूर्ण रूपमा ध्वस्त भएको जनाइएको छ।

भूकम्पका कारण स्वास्थ्य संस्था, विद्यालय, सडक तथा अन्य सार्वजनिक पूर्वाधारमा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्। केही दुर्गम क्षेत्रमा सडक र सञ्चार संरचनामा भएको क्षतिका कारण सहायता पुर्‍याउने काम थप चुनौतीपूर्ण बनेको छ।

भूकम्पपछि लगातार परकम्पहरू गइरहेकाले भग्नावशेषमा खोजी गरिरहेका उद्धारकर्मीसमेत जोखिममा छन्। कमजोर संरचना थप भत्किन सक्ने भएकाले उद्धार टोलीले सावधानी अपनाउँदै काम गरिरहेका छन्। पछिल्लो समय जीवित व्यक्ति भेटिने सम्भावना घट्दै गए पनि केही स्थानमा खोजी कार्य अझै जारी राखिएको छ।

काली र पेरेरा भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये रहेका छन्। यी क्षेत्रमा ठूलो संख्यामा मानिसको मृत्यु भएको छ भने हजारौँ परिवार विस्थापित भएका छन्। कतिपय प्रभावित परिवारले घर बाहिर वा अस्थायी आश्रयस्थलमा रात बिताइरहेका छन्।

उद्धार अभियानका क्रममा केही मानिसलाई भग्नावशेषबाट जीवितै निकालिएको थियो। तर लामो समयसम्म भग्नावशेषमा फसेकी एक उद्धार गरिएकी महिलाको उपचारका क्रममा मृत्यु भएपछि थप जीवित व्यक्ति भेटिने सम्भावनाबारे चिन्ता बढेको छ।

सरकारले प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, औषधि र अस्थायी आवासको व्यवस्था गरिरहेको जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूबाट समेत राहत र उद्धारमा सहयोग भइरहेको छ। प्रभावित परिवारको पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई आगामी चरणमा प्राथमिकता दिने तयारी गरिएको छ।

उद्धार टोलीले अझै बेपत्ता ३२० जनाको खोजी गरिरहेको छ। मृतक, घाइते र क्षतिको विवरण संकलन तथा पहिचानको प्रक्रिया जारी रहेकाले तथ्यांक थप परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्। भूकम्पपछि कोलम्बियाले सामना गरेको यो पछिल्लो ठूलो मानवीय संकटका रूपमा घटनालाई हेरिएको छ।