विजयपुर । सुनसरीको बर्जु गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका ३ लाख ६२ हजार २२५ रुपैयाँ बराबरका लत्ताकपडा बरामद गरेको छ ।
बर्जु गाउँपालिका–१ स्थित दुर्गा मन्दिरबाट प्रहरीले १ लाख ४३ हजार २२५ रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो । भारतबाट नेपालतर्फ भन्सार छली गरी अवैध रूपमा सामान ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी शुक्रबारेबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लत्ताकपडासहित प्र।१–०२–००५ ह ०८५१ नम्बरको सिटी सफारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, बर्जु गाउँपालिका–६ स्थित जानकी चोकबाट थप २ लाख १९ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको छ । भारतबाट भन्सार छली गरी अवैध रूपमा लत्ताकपडा ल्याउँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार दुवै स्थानबाट बरामद गरिएका लत्ताकपडाको जम्मा मूल्य ३ लाख ६२ हजार २२५ रुपैयाँ रहेको छ । प्रहरीले भन्सार छली गरी अवैध सामान ओसारपसारमा प्रयोग भएको सिटी सफारीसमेत नियन्त्रणमा लिएको छ ।
बरामद गरिएका लत्ताकपडा र सिटी सफारीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहबीमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।