विजयपुर । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसचोकबाट प्रहरीले ५.७५ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा नियमित चेकजाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प १३५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा लागूऔषध फेला परेको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का ४३ वर्षीय अर्जुन राई र सोही स्थानका ३३ वर्षीय प्रेमबहादुर राई रहेका छन्। अर्जुन मोटरसाइकल चालक हुन् भने प्रेमबहादुर पछाडि सवार थिए।

प्रहरीले उनीहरूको साथबाट ५.७५ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको जनाएको छ। लागूऔषधसँगै उनीहरूले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।